भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

डोलेश्वर महादेवः हराउँदै गएको इतिहास, फर्कँदै गरेको आत्मसम्मान

डोलेश्वर महादेवः हराउँदै गएको इतिहास, फर्कँदै गरेको आत्मसम्मान

भक्तपुर । नेपालको माटो, हावा, पानीमा हजारौं वर्ष पुरानो सभ्यता र संस्कृतिको सुगन्ध बसेको छ। इतिहास हाम्रो आत्मा हो, जसलाई बिर्सनु भनेको आफूलाई विर्सिनु हो । तर दुःखको कुरा, हामीमध्ये धेरैले आफ्नै इतिहास बिर्सिसकेका छौं। त्यही बिर्संदै गएको इतिहासको गहिराइमा छ-भक्तपुरको सिपाडोलमा अवस्थित डोलेश्वर महादेव, जसलाई सिपारे महादेव भनेर चिनिन्छ।

धेरैलाई थाहा छैन-यो केवल एउटा मन्दिर होइन, यो महाभारतकालीन पौराणिक यात्राको चुपचाप साक्षी हो। जनश्रुति भन्छ-डोलेश्वर महादेव नै भारतको केदारनाथको टाउको (शिर) हो।

कथा जसले हामीलाई बिर्सियो, तर हामीले उसलाई बिर्सेनौं

पाण्डवहरूले महाभारत युद्धपछि आत्मशुद्धिका लागि शिवजीको खोजी गरे। शिवजीले विभिन्न रूपमा प्रकट हुँदै अन्ततः पृथ्वीमा लुक्नु भयो। शरीरको भाग भारतको केदारनाथमा देखापर्‍यो, र शिर प्रकट भयो यही सिपाडोलमा।

तर हामीले यो कुरा २०६४ साल भाद्र ६ गते मात्रै बुझ्यौं-जब केदारनाथ मन्दिरका प्रमुख पुजारी स्वयं आएर डोलेश्वर महादेवलाई केदारनाथकै शिर भएको घोषणा गरे। यो केवल आध्यात्मिक साक्षात्कार थिएन, यो हाम्रो गुमिरहेको इतिहाससँगको पुनर्मिलन थियो।

हराएको बाटोः हसिनापुरदेखि डोलेश्वरसम्म

एक गहिरो प्रश्न अझै खुल्ला छ-पाण्डवहरू हसिनापुर (भारत) बाट कसरी आए सिपाडोल (नेपाल) ? हाम्रो सपना छ–पञ्च पाण्डव पदमार्ग पुनः पहिचान गरी, अध्ययन गरी निर्माण गरौं।

ती पौराणिक पथहरूलाई फेरि उउजागर गरौं -जहाँ अध्यात्म, इतिहास र पर्यटनको संगम होस्। पदयात्रा जहाँ यात्रुहरूले महाभारतको कथा अनुभव गर्दै नेपाल छिर्छन् र डोलेश्वरमा आत्मशान्तिको अनुभव गर्छन्। त्यो केवल पर्यटन होइन, त्यो संस्कारको यात्रा हुनेछ।

पर्यटनमा इतिहासको पुन:र्जागरण

डोलेश्वर महादेव जस्तो स्थलमा केवल दर्शन गर्ने होइन, इतिहास बोक्ने गाइडहरू, कथावाचन गर्ने वृद्धहरू, स्थानिक होमस्टे, नेवारी संस्कृति, र पारम्परिक खानाको स्वाद पनि जोडिनुपर्छ। पर्यटन भनेको केवल हेर्ने कुरा होइन, त्यो अनुभव गर्ने, महसुस गर्ने र आत्मसाथ गर्ने प्रक्रिया हो।

डोलेश्वरलाई धार्मिक पर्यटन, सांस्कृतिक शिक्षा र स्थानीय अर्थतन्त्रको केन्द्र बनाउने सपना साकार हुनसक्छ–यदि हामी चाह्यौं भने।

युवालाई जगाउन अब ढिलो भइसक्यो

युवा पुस्ताले आफ्नो गौरवशाली इतिहास नबुझ्ने हो भने, आफ्नै पहिचान हराउनेछ।

अब समय आयो
विद्यालय र कलेजहरूमा स्थानीय इतिहास पढाउन,
पाण्डव पदमार्ग निर्माणको माग गर्न,
र आफ्ना धरोहरहरूको संरक्षणमा स्वयं सहभागी हुन।

डोलेश्वर महादेव हाम्रो लागि केवल एउटा मन्दिर होइन, त्यो समयको सन्देश हो-कि जुन कुरा हामी बिर्स्यौं, त्यो अझै माटोमा बाँकी छ। अब हामी जागौं, बुझौं, र डोलेश्वरलाई केवल पूजा होइन, गौरव बनाऔं।

( लेखकः रामसुन्दर बके पर्यटन व्यवसायी तथा जे पाक्छ, त्यही विक्छ अभियानका अभियान्ता)

 


Thali Mobile Pvt.Ltd.