मेलम्चीको विकल्प मानिएको सिस्नेरी खानेपानी आयोजनाको डिपिआर सुरु

मेलम्चीको विकल्प मानिएको सिस्नेरी खानेपानी आयोजनाको डिपिआर सुरु image

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा रहेको सिस्नेरी खानेपानी आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डिपिआर बनाउन सुरु भएको छ ।

आयोजनाको सम्भाव्यता अध्ययन सकिएर विस्तृत आयोजनाको काम अघि बढाइएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा। सञ्जीवविक्रम राणाले जानकारी दिए । उनले भने, ‘चालु आर्थिक वर्षभित्र परामर्शदाता छनोट हुन्छ र काम सुरु भएको १४ महिनामा प्रतिवेदन तयार हुन्छ ।’

बोर्डले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन भने पूरा गरिसकेको छ । खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरका धेरै ठाउँमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सिस्नेरी खानेपानी आयोजनाअघि बढाउन लागिएको बताए ।

उनका अनुसार यो आयोजना मेलम्ची खानेपानी आयोजनाको विकल्पमा बनाउन लागिएको हो । वर्खापछि सञ्चालनमा आएको मेलम्ची खानेपानी अहिले फेरि बन्द भएको अवस्था छ । काठमाडौँ उपत्यकाको जनसङ्ख्या बढ्दै जाँदा मेलम्चीको पानी मात्रै पर्याप्त नहुने भएकाले नयाँ विकल्पमा काम सुरु गरिएको हो ।

सिस्नेरीमा बाँध बाँधेर खोलाको पानी सङ्कलन गर्ने र उपत्यकामा पठाइने कार्यकारी निर्देशक राणाले बताए । उनका अनुसार उक्त आयोजनाबाट दैनिक १३ करोडदेखि १४ करोड लिटर पानी उपत्यकामा ल्याउन सकिन्छ ।

उक्त आयोजनास्थल ललितपुरको सैंबु रिजर्भ वायरबाट करिब १९ किलोमिटर टाढा दक्षिणमा पर्दछ । जुन कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर जिल्ला हुँदै बगेको बागमती नदीको नजिक पर्दछ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानीको शाखा हो भने कुलेखानी बागमती नदीको शाखा हो ।

यस आयोजनालाई दीर्घकालीन महत्वको आयोजनाका रुपमा हेरिएको छ । यस आयोजनाअन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा सङ्कलन गरिनेछ र सङ्कलित पानीलाई पम्प गरी सैंबु जलाशयमा पठाई ललितपुर महानगर क्षेत्रभित्र वितरण गरिनेछ । सिस्नेरीमा निर्माण हुने बाँधको लम्बाई एक सय ६२ मिटर र उचाई ६५ मिटर रहने छ । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda