पदयात्राकै क्रममा भक्तपुरका बहाबहीबारे विस्तृतमा अध्ययन गर्ने अवसर मिल्योः मेयर प्रजापति

पदयात्राकै क्रममा भक्तपुरका बहाबहीबारे विस्तृतमा अध्ययन गर्ने अवसर मिल्योः मेयर प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुरका मूर्त अमूर्त सम्पदा संसारसामु चिनाउने अभियानस्वरुप भक्तपुर नपाले विभिन्न सांस्कृतिक गतिविधि गर्दै आएको बताएका छन् । भक्तपुर नगरपालिकाले पुस १४ गते शनिबार गरेको ‘बहाबही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नाराका साथ सम्पन्न योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्रामा सहभागी सरोकारवालाहरुलाई मंगलबार धन्यवादज्ञापन गर्दै उक्त कुरा बताएका हुन ।

मेयर प्रजापतिले सन् २०२३ मा नेपालमा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको बताउँदै पर्यटकहरुको उत्साहजनक आगमनसँगै नेपालको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव परेको बताए । उनले सम्पदा पदयात्राकै क्रममा भक्तपुरमा रहेका बहाबहीबारे विस्तृतमा अध्ययन गर्ने अवसर पनि मिलेको जानकारी दिए । पुरानो सांस्कृतिक सम्पदाबाट नयाँ पुस्ताको सेवा गर्ने उद्देश्यले भक्तपुर नपाले काम गर्दै आएको बताए ।

भक्तपुर नपाले भक्तपुर महोत्सवको अभ्यासको रुपमा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिँदै आएको बताउँदै प्रमुख प्रजापतिले राजनैतिक कार्यकर्ताहरुले व्यक्तिगत स्वार्थलाई त्यागी देशको हितमा काम गर्नुपर्ने धारणा राखे । भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुरका मूर्त र अमूर्त सम्पदा संरक्षण तथा यहाँको पहिचान जोगाउने सिलसिलाको रुपमा सम्पदा पदयात्रा कार्यक्रम आयोजना गरिएको बताउँदै उक्त कार्यक्रम आयोजनाले भक्तपुरमा रहेका बहाबही संरक्षणको लागि खाका प्राप्त भएको बताए ।

बौद्ध दर्शनका अध्येता डा.पुष्परत्न शाक्यले बहाबहीको ऐतिहासिक पक्षमाथि प्रष्ट पार्दै नेवा सभ्यता बचाइराख्न भक्तपुर नपाले आयोजना गरेको सम्पदा पदयात्रा प्रशंसनीय कदम भएको बताए ।
भनपा पर्यटन सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुरमा रहेका २४ वटा बहाबहीमध्ये सम्पदा पदयात्राको क्रममा १९ वटा बहाबही अवलोकन र परिचयबारे जानकारी पाउने अवसर प्राप्त भएको बताउँदै सम्पदा पदयात्राको आयोजनाले भक्तपुर रौनकमय बनेको बताए ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विभिन्न सरोकारवालाहरुसँग चरणबद्ध छलफलपश्चात सम्पदा पदयात्रा कार्यक्रम आयोजना गरिएको बताउँदै यो कार्यक्रम सम्पूर्ण नगरबासीहरुको साझा कार्यक्रम र उत्सवको रुपमा सम्पन्न भएको बताए ।

 


Thali Mobile Pvt.Ltd.