मौन अवधिमा कानूनविपरीत गतिविधि रोक्न विशेष निगरानी : निर्वाचन आयुक्त राणा

मौन अवधिमा कानूनविपरीत गतिविधि रोक्न विशेष निगरानी : निर्वाचन आयुक्त राणा

काठमाडौँ, १६ फागुन । निर्वाचन आयोग का आयुक्त सगुनशमशेर राणा ले निर्वाचनको मौन अवधिमा हुनसक्ने चलखेल रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताएका छन् ।

यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे कुरा गर्दै उनले मौन अवधि उम्मेदवारलाई शान्त रहन र मतदातालाई स्वतन्त्र रूपमा निर्णय लिन दिइने समय भएको स्पष्ट पारे । यस अवधिमा आचारसंहिताविपरीतका गतिविधि हुन नदिन जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकाय परिचालन गरिएको उनले जानकारी दिए ।

आयुक्त राणाका अनुसार निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । करिब तीन लाख ४२ हजार सुरक्षाकर्मी परिचालन भइसकेका छन् भने कर्मचारी पनि सम्बन्धित क्षेत्रमा खटिइसकेका छन् । मतपत्र सबै निर्वाचन क्षेत्रमा पुर्‍याइएको र मतदान अधिकृतको तालिम सम्पन्न भएको उनले बताए ।

निर्वाचन स्वच्छ , स्वतन्त्र , निष्पक्ष र भयरहित बनाउन आयोग र सरकारबीच प्रभावकारी समन्वय भइरहेको उनले उल्लेख गरे । गृहमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरमा सुरक्षा गोष्ठी सम्पन्न भइसकेको छ ।

निर्वाचन आचारसंहिता पालनाका क्रममा सामाजिक सञ्जाल र एआइको दुरुपयोग प्रमुख चुनौती बनेको उनले बताए । आयोगले सामाजिक सञ्जाल प्लेटफर्म , साइबर ब्यूरो र सुरक्षा निकायसँग समन्वय गरी भ्रामक सामग्री हटाउने काम गरिरहेको जानकारी दिए । विशेषगरी टिकटकजस्ता प्लेटफर्मसँग समन्वय गरी उल्लङ्घन सामग्री छिटो हटाउने व्यवस्था गरिएको छ ।

मतदाता शिक्षालाई प्राथमिकता दिँदै गाउँबस्तीसम्म स्वयंसेविका परिचालन गरिएको उनले बताए । मतपत्रमा स्पष्ट रूपमा निर्वाचन चिह्नको कोठाभित्र मात्र स्वस्तिक छाप लगाउन र सही तरिकाले फोल्ड गर्न मतदातालाई आग्रह गरिएको छ । यसपटक बदर मत घट्ने अपेक्षा गरिएको छ ।

विगतमा मतगणना ढिलो भएको गुनासो दोहोरिन नदिन जनशक्ति बढाइएको र व्यवस्थापन सुधार गरिएको उनले जानकारी दिए । यद्यपि मतगणना म्यानुअल प्रणालीमै हुने उनले स्पष्ट पारे । आयुक्त राणाले यो विशेष परिस्थितिमा हुन लागेको महत्वपूर्ण निर्वाचन भएकाले योग्य उम्मेदवार छनोट गरी अनिवार्य रूपमा मतदान गर्न सम्पूर्ण मतदातालाई अपिल गरेका छन् । लोकतन्त्र सुदृढ बनाउन र देशलाई निकास दिन नागरिकको सहभागिता अपरिहार्य रहेको उनले उल्लेख गरे ।

 


Thali Mobile Pvt.Ltd.