भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

प्रेम सम्बन्धको विवादमा धनुषामा युवकको हत्या, प्रेमिकासहित तीन जना पक्राउ

प्रेम सम्बन्धको विवादमा धनुषामा युवकको हत्या, प्रेमिकासहित तीन जना पक्राउ

धनुषा, १६ फागुन । धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा ले पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो । गत फागुन १४ गते अपरान्ह करिब ४ बजे औरही गाउँपालिका–६ चक्करस्थित भित्री सडक खण्डभन्दा करिब ३०० मिटर पूर्व मसुरी खेतमा एक युवकको शव फेला परेको थियो ।

घाँटी रेटिएको अवस्थामा फेला परेको शवको पहिचान हंसपुर नगरपालिका–९ बुदौल (रुदौली) निवासी १८ वर्षीय सुमितकुमार मण्डलका रूपमा भएको प्रहरीले जनाएको छ । उनी सगरमाथा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुमित र हंसपुर नगरपालिका–६ सोनिगामा बस्ने १७ वर्षीया काजल कुमारी मण्डलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । फागुन १३ गते साँझ काजलले घरमा कोही नभएको मौका छोपी सुमितलाई भेट्न बोलाएकी थिइन् । त्यसक्रममा परिवारका सदस्यहरूले उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारेपछि विवाद सुरु भएको प्रहरीको भनाइ छ ।

रुग्मबहादुर कुँवर का अनुसार काजलका दाजु २० वर्षीय दीपेशकुमार मण्डल र काकाका छोरा २९ वर्षीय परमेश्वर मण्डलले सुमितको हात बाँधेर मोटरसाइकलमा राखी घरदेखि करिब डेढ किलोमिटर टाढा मानव बस्ती नभएको मसुरी खेतमा लगेको अनुसन्धानबाट खुलेको छ । त्यहाँ धारिलो हतियार (खुकुरी) प्रहार गरी घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्यापछि प्रमाण लुकाउन सुमितको मोटरसाइकल विदेह नगरपालिका–१ स्थित एक साथीको घरमा लुकाइएको थियो । प्रहरीले मोटरसाइकल , खुकुरी र हात बाँध्न प्रयोग गरिएको डोरी बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा काजल कुमारी मण्डल , दीपेशकुमार मण्डल र परमेश्वर मण्डल रहेका छन् । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एसपी कुँवरका अनुसार धनुषामा पछिल्लो समय भएका ६ वटा हत्याका घटनामध्ये ४ वटाको सफल अनुसन्धान गरी संलग्नहरूलाई कानुनी दायरामा ल्याइसकिएको छ भने बाँकी घटनाको पनि सूक्ष्म अनुसन्धान जारी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.