भर्खरै : Sorry, your browser does not support inline SVG.

चुनाव केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

चुनाव केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

मुख्य बुँदा 

फागुन २१ को निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण

गस्ती परिचालनमा सुधार, पहुँच विस्तार

लामो दूरीको गस्ती १,१३६ पटक, सानो दूरीको गस्ती ३,८९,९६० पटक

१३ लाख ४६ हजार ३२८ सुरक्षाकर्मी परिचालित

तोडफोड, आगजनी र अन्य अवाञ्छित गतिविधि नियन्त्रणमा विशेष ध्यान

सीमाक्षेत्र निगरानी, उम्मेदवार–मतदाता सुरक्षा, फरार कैदी पक्राउने टोली परिचालन

काठमाण्डौ, ४ पुस । आउँदो फागुन २१ गते हुने चुनावलाई स्वतन्त्र, निष्पक्ष, भयरहित तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।

चुनावलाई लक्षित गर्दै नेपाल प्रहरीले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्देशन तथा निर्णयहरूलाई आत्मसात गर्दै उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी चुनाव सम्पन्न गर्न नेपाल प्रहरी दृढ सङ्कल्पित रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बताउनुभयो ।

उहाँका अनुसार चुनाव लक्षित गस्तीलाई थप प्रभावकारी बनाइँदै पहुँचलाई व्यापक बनाइएको छ ।अहिलेसम्म लामो दूरीको गस्ती १ हजार १ सय ३६ पटक र सानो दूरीको गस्ती ३ लाख ८९ हजार ९ सय ६० पटक गरिएको छ ।

ती गस्तीमा १३ लाख ४६ हजार ३२८ जना सुरक्षाकर्मी परिचालित भएका छन् । चुनावमा हुन सक्ने तोडफोड, आगजनी तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले दिनानुदिन गस्तीलाई अझ प्रभावकारी बनाउँदै आएको छ । सूचना सङ्कलन, खतरा मूल्याङ्कन, विश्लेषण तथा सूचनाको प्रवाहलाई प्रभावकारी बनाइएको छ ।

सीमाक्षेत्रमा हुने घुसपैठ तथा आपराधिक क्रियाकलाप नियन्त्रणका लागि पनि नियमित अनुगमनसहित प्रहरी परिचालन गरिएको छ । उम्मेदवार, मतदाता, राजनीतिक दलका नेता, विशिष्ट व्यक्ति, निर्वाचन पर्यवेक्षक, सञ्चारकर्मी, चुनाव प्रचार–प्रसार तथा विजय जुलुसको सुरक्षालाई मजबुत बनाउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरिएको उहाँले बताउनुभयो ।

आन्दोलनका क्रममा लुटिएका तथा हराएका हातहतियारबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण गर्न नेपाल प्रहरीले विशेष टोली गठन गरी परिचालन गरेको छ । लुटिएका हातहतियारको पहिचान तथा बरामद गर्नुका साथै फरार कैदीबन्दी र थुनुवाको पक्राउ कार्यमा पनि प्रहरी सक्रिय रहेको जनाइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.