भर्खरै : Sorry, your browser does not support inline SVG.

स्वदेशी साना लगानीकर्ताहरूलाई प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरूमा पीपीए सीमा लागू नहुने

स्वदेशी साना लगानीकर्ताहरूलाई प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरूमा पीपीए सीमा लागू नहुने

काठमाण्डौ । १० मेगावाटसम्मका नदी प्रवाही र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरूसँग जहिले र जति पनि पीपीए गर्ने सरकारले निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले सौर्य जलविद्युत् आयोजनाहरूसँग गरिने पीपीएको सीमा बढाएको छ । कायम जडित क्षमता र पीपीए भइसकेका आयोजनाहरूलाई समेत समावेश गर्दा हुने राष्ट्रिय ग्रिडको कुल क्षमताको १० प्रतिशतसम्मको सीमामा रहेर प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जाको पीपीए गर्ने प्राधिकरणले जनाएको छ ।

यसअघि राष्ट्रिय ग्रिडको जडित क्षमताको १० प्रतिशतसम्म सीमामा रहेर सौर्य आयोजनाको पीपीए हुँदै आएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्वदेशी साना लगानीकर्ताहरूको विद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरूमा पीपीए सीमा लागू नहुने व्यवस्था गरिएको जानकारी दिए ।

प्राधिकरणले अहिलेसम्म सबै प्रकारका आयोजनामा गरी नौ हजार दुई सय मेगावाटको पीपीए गरिसकेको छ । प्राधिकरणले पीपीए भइसकेका जलविद्युत् आयोजनाहरूको क्षमता वृद्धि गरिएमा थप विद्युत् खरिद गरिदिने निर्णय पनि गरेको छ । यसअघि कोटा प्रणालीका कारण १० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरूको पीपीए हुन सकिरहेको थिएन ।

 


Thali Mobile Pvt.Ltd.