भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

प्रहरी–कर्मचारीको मिलेमतोमा नक्कली दुर्घटना: ८१ लाख बीमा ठगी प्रकरण सार्वजनिक

प्रहरी–कर्मचारीको मिलेमतोमा नक्कली दुर्घटना: ८१ लाख बीमा ठगी प्रकरण सार्वजनिक

मुख्य बुँदा

नक्कली प्रहरी प्रतिवेदन बनाएर ८१ लाख रुपैयाँ बीमा ठगी

मुख्य अभियुक्त हरि बुढाथोकी, ३१ जनाविरुद्ध मुद्दा दर्ता

प्रहरी हवल्दार र बीमा कम्पनीका कर्मचारीको मिलेमतो पुष्टि

२९ वटा नक्कली दुर्घटना सिफारिस पत्र तयार पारिएको खुलासा

अन्य ३० प्रतिवादी फरार

सरकारी लिखत किर्ते मुद्दामा ७ वर्षसम्म कैद र जरिवाना माग

८१ लाख रुपैयाँ बिगो असुल उपरको मागदाबी

काठमाडौँ, १ माघ । नक्कली प्रहरी प्रतिवेदन र सिफारिस पत्र बनाएर दुर्घटना बीमाबाट ८१ लाख रुपैयाँ ठगी गरिएको घटना सार्वजनिक भएको छ। प्रहरी अनुसन्धानअनुसार यस प्रकरणमा प्रहरी हवल्दार, बीमा कम्पनीका कर्मचारी र अन्य व्यक्तिको मिलेमतो रहेको खुलेको छ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले पर्सा घर भई काठमाडौँको काँडाघारी बस्ने ४४ वर्षीय हरि बुढाथोकीसहित ३१ जनालाई प्रतिवादी बनाउँदै ‘लिखत सम्बन्धी कसुर (किर्ते)’ मा काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ। जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले बुढाथोकीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। मुद्दाका अन्य ३० प्रतिवादी हालसम्म फरार छन्।

प्रहरीका अनुसार मुख्य प्रतिवादी बुढाथोकीले प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक श्याम खनालको नक्कली हस्ताक्षर र प्रहरीको लेटरप्याड प्रयोग गरी २९ वटा नक्कली दुर्घटना सिफारिस पत्र तयार पारेका थिए। उनले विभिन्न ३० जना सवारी धनी र चालकसँग मिलेर नक्कली दुर्घटनाको विवरण बनाएर नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बीमा रकम हात पार्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानमा बुढाथोकीले नेपाल माइक्रो इन्स्योरेन्सका कर्मचारी विकेश कुँवर र प्रहरी हवल्दार ध्रुव शाहीसँग मिलेमतो गरी प्रतिसिफारिस ३ लाख रुपैयाँका दरले २७ वटा दाबीबाट कुल ८१ लाख रुपैयाँ ठगी गर्ने योजना बनाएको निष्कर्ष निकालिएको छ।

गत २०८२ भदौ ८ गते प्रहरी निरीक्षक श्याम खनालको किर्ते हस्ताक्षर भएको पत्र फेला परेपछि अनुसन्धान सुरु भएको थियो। सोही क्रममा २०८२ असोज १ गते काठमाडौँको जडीबुटीस्थित सडकबाट बुढाथोकीलाई नियन्त्रणमा लिइएको थियो। खानतलासी गर्दा उनको ज्याकेटको भित्री गोजीबाट प्रहरीको चलानी नम्बर उल्लेख भएका नक्कली सिफारिस पत्र तथा सम्झौतासम्बन्धी कागजात बरामद भएको प्रहरीले जनाएको छ।

यस प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रहरी वृत्त नयाँ बानेश्वरका हवल्दार ध्रुव शाही तथा बीमा कम्पनीका कर्मचारी विकेश कुँवरसहित अन्य ३० जना फरार छन्। फरारमध्ये विभिन्न सवारी साधनका धनी, चालक तथा बिचौलियाहरू रहेको प्रहरीले जनाएको छ।

सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ बमोजिम कसुरमा सजाय माग गर्दै प्रतिवादीहरूबाट किर्ते गरी प्राप्त गर्न खोजिएको ८१ लाख रुपैयाँ बिगो कायम गरी असुल उपर गर्न माग गरेको छ। सरकारी लिखत किर्ते गरेको अभियोगमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानासमेत मागदाबी गरिएको छ। साथै पीडित बीमा कम्पनीलाई भएको क्षतिपूर्ति भराउन पनि माग गरिएको छ।

प्रहरीले बरामद गरेका २९ थान नक्कली सिफारिस पत्र, मुचुल्का तथा प्रतिवादीका बयानलाई मुख्य प्रमाणका रूपमा अदालतमा पेस गरिएको छ। यो घटनाले बीमा क्षेत्रमा हुने संगठित ठगी र सरकारी कागजातको गम्भीर दुरुपयोगलाई उजागर गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.