भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

फर्जी कागजात पेश गरी भुक्तानीः राष्ट्रपति चुरे संरक्षणको नाममा ५ करोड २४ लाख अनियमितता

फर्जी कागजात पेश गरी भुक्तानीः राष्ट्रपति चुरे संरक्षणको नाममा ५ करोड २४ लाख अनियमितता

काठमाडौं । राष्ट्रपति चुरे संरक्षण विकास समितिको जनकपुरधामस्थित कार्यक्रम कार्यान्वयन इकाइले चुरे संरक्षणका लागि छुट्याएको बजेटमा अनियमितता भएको पाइएको छ । समितिका बोर्ड सदस्य शशीकुमार शर्माले तयार गरेको आन्तरिक प्रतिवेदनमा चुरे संरक्षणको नाममा करिब ५ करोड २४ लाख ३२ हजार रुपैयाँ अनियमितता भएको उल्लेख छ । २०८० को ८ देखि १४ पुससम्म स्थलगत निरीक्षण तथा अध्ययन गरी २० पृष्ठको प्रतिवेदन तयार पारिएको छ ।

प्रतिवेदनमा उपसचिव शिव पोखरेल संरक्षण विकास समितिको जनकपुरधाम कार्यक्रम कार्यान्वयन इकाइको प्रमुख रहेका बेला सञ्चालन नभएका कार्यक्रमहरूको फर्जी कागजात पेश गरी भुक्तानी दिएको, स्वीकृति विपरीतका योजनाहरु सञ्चालन गरी अनियमितता गरेको दाबी छ ।जनकपुरधाम इकाइमा आर्थिक वर्ष २०७९, ०८० मा चालु र पुँजीगत खर्चका लागि ३९ करोड ८९ लाख ६० हजार रुपैयाँको बजेट स्वीकृत भएको थियो ।

जसमा १५० वटा कार्यक्रम सञ्चालन गरी बनाइएको एक्टिभिटी प्रोफाइलमा उल्लेख छ । एक्टिभिटी प्रोफाइल अनुसार तत्कालीन सब इन्जिनियर रामईश्वर साहले १०३ वटा कार्यक्रम सम्पन्न गरेको प्रतिवदनमा उल्लेख छ । जसमा २५ करोड २७ लाख ५९ हजार २७३ रुपैयाँ खर्च भएको देखिन्छ । तर, उनले सम्पन्न गरेका कतिपय योजनाहरू कार्यक्रम प्रोफाइलमा समावेश नरहेको दाबी प्रतिवेदनमा छ ।

प्राविधिक सहायक कृष्णा साहले २८ वटा कार्यक्रम सञ्चालन गरी ५ करोड ५७ लाख ३८ हजार २ सय ९ रुपैयाँ खर्च गरेको देखाइएको छ । रेञ्जर रामनाथ चौधरीले १९ वटा कार्यक्रम सञ्चालन गर्दा १ करोड २८ लाख १६ हजार ४ सय ११ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उल्लेख भए अनुसार एक्टिभिटी प्रोफाइलका आधारमा कार्यक्रममा ३२ करोड २ लाख ९३ हजार ८९५ रुपैयाँ ५१ पैसा खर्च भएको देखिन्छ ।

जसमा ४ प्रतिशत कन्टिन्जेन्सी वापत १ करोड २८ लाख ८ हजार ५५५ रुपैयाँ खर्च हुन्छ । कार्यक्रम र कन्टिन्जेन्सी खर्च जोड्दा ३३ करोड ३० लाख २२ हजार ४ सय ५१ रुपैया खर्च भएको देखिन्छ । तर ५ करोड २४ लाख ३२ हजार रुपैयाँ राज्य कोषमा बाँकी देखिनुपर्नेमा नदेखिएको प्रतिवेदनमा उल्लेख छ । वार्षिक प्रगति समीक्षा गोष्ठीमा प्रस्तुत गरिएका कार्यक्रमहरूमा ९९ प्रतिशत खर्चको दाबी गरिएको छ । तर त्यस अनुसार खर्च विवरण नदेखिएको शर्माले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

धनुषाको मिथिला नगरपालिका ७ ढल्केबरमा ग्राउण्ड वाटर रिचार्ज कार्यक्रमको नाममा दुईवटा पोखरीको फर्जी बिल पेश गरी २८ लाख रकम लिएको दाबी प्रतिवेदनमा छ । रामकुमार महतो अध्यक्ष रहेको औरही तटबन्ध गल्छी तथा पोखरी निर्माण उपभोक्ता समितिलाई १४ लाख १५ हजार ६५५ रुपैयाँ ६६ पैसा रकम भुक्तानी गरिएको छ ।

एक्टिभिटी प्रोफाइलको ३३ नम्बर कार्यक्रममा समावेश गरिएका ग्राउण्ड वाटर रिचार्ज कार्यक्रममा त्यही छेउमा होमप्रसाद शर्मा अध्यक्ष रहेको औरही तटबन्ध गल्छी तथा पोखरी निर्माण उपभोक्ता समितिलाई १४ लाख ५ हजार ३६८ रुपैयाँ ६७ पैसा रकम भुक्तानी गरिएको एक्टिभिटी प्रोफाइल र प्रतिवेदनमा उल्लेख छ । बोर्ड सदस्य शर्माको छानबिन प्रतिवेदनमा अन्य कार्यालयबाट निर्माण भइसकेको दुबै पोखरीको तस्वीर राखेर फर्जी बिल भरपाइ तयार गरी रकम भुक्तानी गरेको दाबी गरिएको छ ।

आफ्नो प्रतिवेदनमा शर्माले यस विषयमा छानबिन गर्नुपर्ने उल्लेख गरेका छन् । यस्तै परामर्श शीर्षकमा १० लाख रुपैयाँ विनियोजन गरिएकोमा प्रक्रियाविना इन्जिनियर अमर साह र जागिरबाट अवकाश कर्मचारी ओभरसियर काशीप्रसाद साहलाई मिलोमतो तरिकाले भर्ना गरी ८ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको दाबी प्रतिवेदनमा छ । स्वीकृत कार्यक्रमको शीर्षक भन्दा बाहिर गएर र विना कुनै संशोधन कार्यक्रम सञ्चालन गरिएको उल्लेख छ ।

२०८० को फागुन पहिलो साता बोर्डमा बुझाएको प्रतिवेदन उपर छानबिन गरिरहेको बोर्डका अध्यक्ष डा किरण पौडेलले बताए । हामीले छानबिन गरिरहेका छौ । बोर्ड सदस्यले तयार गरेको प्रतिवेदनमा कतिपय व्यक्तिगत कुरा पनि हुन्छन् ।

 


Thali Mobile Pvt.Ltd.