भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित

वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैवाहाका खडकबहादुर चौधरीले पाँच वर्षदेखि वसन्ते मकैखेती गर्दै आएका छन् । वर्णशङकर ९हाइब्रिड० १२०८ जातको मकैखेती गरेर उनले चार महिनामा रु ३० हजारदेखि रु ७० हजारसम्म आम्दानी गरे । पाँच कट्ठा जग्गामा लगाइएको मकैको एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लाग्ने गरेको छ ।

उन्नत जातको भन्दा गुणस्तरीय वर्णशङ्कर जातका मकैको खेती गर्दा २५ देखि ३० प्रतिशतले बढी उत्पादन हुने गरेको छ । फागुनको पहिलो हप्ता रोपेको मकै जेठमा उत्पादन लिन सकिने किसान चौधरीले बताए । हरियो मकै खेतबारीबाट नै रु १० देखि १५ सम्ममा बिक्री हुने गरेको छ । हरियो बिक्री नभएको मकै पाकेपछि बिक्री गरिँदै आएको उनको भनाइ छ ।

मकैको डाँठ भने मेसिनमा काटेर घरमा पालेका बाख्रा, बङ्गुर, भैँसीलगायतका लागि भुसासँगै मिसाएर खुवाउन प्रयोगमा ल्याइने गरिएको शङ्कर चौधरीले बताए। बैवाहाका १५ बढी किसानले चार कट्ठादेखि सात कट्ठा जग्गामा वसन्ते मकैखेती गरेका छन् । मकैको उत्पादन लिएपछि यहाँका किसानले धान रोप्ने भएकाले छोटो अवधिमै पाक्ने मकैखेतीलाई बढावा दिँदै आएका छन् ।

कुनै किसानले १२८०, कुनैले अरुण–२, अरुण–६ जातका मकैखेती गरेका छन् । “पाँच कट्ठा जग्गामा लगाइएको मकैखेतीबाट गत वर्ष रु ८० हजार आम्दानी भएको छ”, रामलाल चौधरीले भने, “छोटो अवधिमा सोचेभन्दा बढी आम्दानी हुँदा यस वर्ष पनि मकैखेतीलाई निरन्तरता दिएका छौँ ।” वसन्ते मकैखेती गरेका अधिकांश किसानले बाख्रापालन गरेका छन् ।

किसानको घरघरमा १० देखि २२ वटासम्म बाख्रापालन गरिएका छन् । बाख्रपालन गर्न र सिँचाइका लागि बोरिङ जडान गर्न भने किसानले सृजनशील सहकारी संस्थाबाट ऋण लिएका छन् । बाख्रापालन गरेका किसानले खसी, बोका बिक्री गरी धेरैले ऋण चुक्ता गरेका छन् । केहीको अन्तिम किस्तामात्र तिर्न बाँकी छ । बाख्रापालन गरेका किसानले गहुँको भुसासँगै मकैको हरियो डाँठलाई चारोका रूपमा प्रयोग गर्दै आएका छन् ।

मकैका बोट निश्चित दूरीमा लगाइने भएकाले गोडमेल गर्न सहज हुनुका साथै सिँचाइ, गोडमेल गर्न, मलखाद छर्न सहज हुने गरेको किसान बताउँछन् । झारपात व्यवस्थापनसँगै रोग कीरा रोकथामका लागि कृषि प्राविधिकसँग किसानले सल्लाह लिने गरेका छन् । वसन्ते मकैखेतीबाट सोचेभन्दा बढी आम्दानी हुने भएकाले बढी जग्गामा खेती गर्न किसान उत्साहित छन् । रासस

 


Thali Mobile Pvt.Ltd.