भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

दशैँको सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइदै

दशैँको सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइदै

काठमाडौं। दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुभ साइत फूलपाती तलेजुभवानी यात्रा बिहान ७ बजेर ११ मिनेटमा र स्थिरासन विहान ८ बजेर ४३ मिनेटमा रहेको जानकारी दिएको छ । केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।

फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि धर्मशास्त्रविद्हरु बताउछन् । दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।