धादिङ, २७ असाेज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदी सडकखण्डमा दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका छन् । गजुरी गाउँपालिका–५ स्थित उक्त सडकखण्ड आज बिहान साढे ६ बजेदेखि पूर्ण रूपमा खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।
त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि थप मर्मत गर्नुपर्ने भएकाले गएराति सवारी आवागमन रोकेर काम गरिएको थियो । सडक मर्मतका लागि राति ११ बजेदेखि यातायात बन्द गरिएको थियो ।
सडकमा थुप्रिएको माटो हटाउनुका साथै मर्मतको काम सम्पन्न भएपछि बिहानदेखि दुवैतर्फ सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।
दसैँको समय भएकाले पृथ्वी राजमार्गमा सवारीसाधनको चाप अत्यधिक छ । गलौँदीमा सडक भासिएपछि गत शुक्रबार बेलुकीदेखि यातायात प्रभावित भएको थियो । त्यसपछि सडकको भित्ता काटेर नयाँ मार्ग खोल्ने काम गरिएको थियो ।
त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि यातायात सञ्चालनमा समस्या आएको थियो । सडक खुलेसँगै पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारीचालकलाई सहज हुने अपेक्षा गरिएको छ ।
