काठमाडौँ, २७ असाेज । नयाँ तथा पुराना गाडी खरिद गर्दा दर्ता र नामसारीका लागि खरिदकर्ता स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ । यातायात व्यवस्था विभागले कार्यविधि संशोधन गर्दै सवारीसाधन दर्ता, नामसारी तथा बीमासम्बन्धी प्रक्रियालाई सहज बनाएको हो ।
विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरी यस्तो व्यवस्था लागू गरेको जनाएको छ । संशोधित व्यवस्थाअनुसार निजी तथा सार्वजनिक सवारीसाधनको पहिलो नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गराएको जाँचलाई नै मान्यता दिइनेछ ।
यससँगै पहिलो नामसारीका लागि पुनः यातायात व्यवस्था कार्यालयमा उपस्थित भएर सवारीसाधन जाँच गराउनुपर्ने छैन । खरिदकर्ता स्वयं कार्यालयमा उपस्थित हुन नसके आवश्यक कागजातसहित प्रतिनिधि पठाएर पनि सवारीसाधन दर्ता तथा नामसारी गर्न सकिनेछ ।
नयाँ व्यवस्थाअनुसार सवारीसाधन बिक्री गर्ने डिलरले खरिदकर्ताको वारेसनामा, वारेसनामा प्राप्त व्यक्तिको नेपाल सरकारबाट जारी सक्कल परिचयपत्र र खरिदकर्ताको फोटोसहित प्रतिनिधि उपस्थित गराउनुपर्नेछ । आवश्यक प्रक्रिया पूरा भएपछि दर्ता तथा नामसारीको काम गर्न सकिने विभागले जनाएको छ ।
त्यसैगरी सवारीसाधनको बीमा गर्न वा बीमा नवीकरण गर्न पनि सवारीधनी यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने छैन ।यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले संशोधित व्यवस्थाअनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैलाई सूचित गर्नुभएको छ ।
नयाँ व्यवस्थाले सवारीसाधन खरिदकर्ता तथा सवारीधनीलाई कार्यालय धाउनुपर्ने झन्झट कम गर्नुका साथै दर्ता, नामसारी र बीमासम्बन्धी सेवा सहज बनाउने अपेक्षा गरिएको छ ।
