गाजामा सहायता वितरण छैन, १४ हजार शिशुको ज्यान जोखिमः संयुक्त राष्ट्रसङ्घ

गाजामा सहायता वितरण छैन, १४ हजार शिशुको ज्यान जोखिमः संयुक्त राष्ट्रसङ्घ

एजेन्सी, ७ जेठ ।  गाजामा अहिलेसम्म कुनै पनि सहायता वितरण हुन नसकेको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ। ११ हप्ताको नाका बन्दीपछि सहायता ट्रकहरू सीमा पार गर्न थाले पनि सामग्रीहरू गाजामा वितरण भएको छैन।

इजरायली अधिकारीहरूले हिजो ९३ वटा ट्रक गाजामा प्रवेश गरेको बताएका छन्। बीबीसीका अनुसार ती ट्रकहरूमा आटा, शिशु खाना, चिकित्सा उपकरण र औषधि लगायतका सामग्रीहरू रहेका छन्।

इजरायलले गएको आइतवार गाजामा केही मात्रामा खाद्यान्न प्रवेश गर्न अनुमति दिएको थियो, तर संयुक्त राष्ट्रसङ्घले सहमतिअनुसार सहायता वितरण गर्न नसकेको बताएको छ। विश्वव्यापी विज्ञहरूले गाजामा अनिकालको चेतावनी दिँदै सहायता आपूर्ति रोक्न नहुने दबाब दिनु भएका छन्। तर इजरायलले कुनै पनि दबाब स्वीकार नगरेको संयुक्त राष्ट्रसङ्घले आरोप लगाएको छ।

संयुक्त राष्ट्रसङ्घका निकायहरूले गाजाको दीर्घकालीन मानवीय सङ्कट समाधानका लागि दैनिक कम्तीमा ६ सय ट्रक सहायता आवश्यक रहेको अनुमान गरेका छन्।राष्ट्रसङ्घले तत्काल खाद्यान्न वितरण हुन नसकेमा गाजामा १४ हजार शिशुले ज्यान गुमाउन सक्ने चेतावनी पनि दिएको छ।

 


Thali Mobile Pvt.Ltd.