विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस्

विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस्

काठमाडौं, २१ साउन । सरकारले विदेशबाट स्वदेश फर्किने नेपाली नागरिकलाई अपरिचित व्यक्ति, दलाल वा अन्य कसैको प्रलोभनमा परेर सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन आग्रह गरेको छ।

नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष सूचना जारी गर्दै पछिल्ला केही दिनयता दुबई, कतारलगायत विभिन्न देशबाट फर्किने नेपालीलाई आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल ल्याउन लगाउने प्रयास बढेको जनाएको छ।

कार्यालयका अनुसार केही अपरिचित व्यक्ति तथा दलालहरूले रकम दिने प्रलोभन देखाएर यात्रुलाई अवैध सामान बोक्न लगाउने गरेका छन्। यस्ता गतिविधिमा संलग्न हुनु प्रचलित कानुनविपरीत हुने भएकाले सम्बन्धित व्यक्तिमाथि अनुसन्धान तथा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

प्रहरीले विदेशमा रहँदा वा स्वदेश फर्किने क्रममा कसैले सुन वा अन्य बहुमूल्य वस्तु नेपाल पुर्‍याइदिन अनुरोध गरेमा त्यसलाई अस्वीकार गर्न र त्यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।

साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै शङ्कास्पद गतिविधि, प्रलोभन वा सुरक्षा जोखिम देखिएमा तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन पनि कार्यालयले अनुरोध गरेको छ।

प्रहरीले यात्रुहरूलाई आफ्नो नाममा वा आफ्नो जिम्मेवारीमा अरू कसैको सामान नबोक्न र कानुनी समस्याबाट जोगिन सतर्क रहन विशेष आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.