सरकारी अस्पताललाई भरपर्दो बनाउन सबै अस्पतालहरुमा स्वास्थ्य बिमाको व्यवस्था हुनु जरुरी छ : प्रमुख प्रजापति

सरकारी अस्पताललाई भरपर्दो बनाउन सबै अस्पतालहरुमा स्वास्थ्य बिमाको व्यवस्था हुनु जरुरी छ : प्रमुख प्रजापति

भक्तपुर । ख्वप अस्पतालको आयोजनामा २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस २०८० सम्पन्न भएको छ । ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको संयुक्त प्रयास’ भन्ने नाराका साथ मंगलबार अस्पतालमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा भक्तपुर नगरपालिका नगर प्रमुख सुनिल प्रजापतिले महिला स्वास्थ्य स्वयम्सेविकाहरुको अथक मेहनत र सेवाभावकै कारण भक्तपुरको स्वास्थ्य अवस्था तुलनात्मक रुपमा राम्रो हुँदै गएको जानकारी दिए । उनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल जनताले अपनत्व ग्रहण गरेको अस्पतालको रुपमा विकास भइरहेको बताउँदै नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यको आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने र प्रत्यक नागरिकलाई स्वास्थ्य सेवामा पहुँच हुने हक प्रदान गरेको उल्लेख गरे ।

प्रमुख प्रजापतिले शिक्षा क्षेत्रमा जस्तै स्वास्थ्यमा पनि देशकै नमुना बनाउन ख्वप अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरु दत्तचित्त भई काम गरिरहेको बताए । सरकारले स्वास्थ्यलाई व्यवसायीकरण गर्ने नीति लिइरहेकोप्रति खेद प्रकट गर्दै प्रमुख प्रजापतिले सरकारी अस्पताललाई विश्वसनीय र भरपर्दो बनाउन सबै अस्पतालहरुमा स्वास्थ्य बिमाको व्यवस्था हुनु जरुरी रहेको तर्क गरे । वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नपाले नगरका विभिन्न वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र बिस्तार गर्ने काम गर्दै आएको बताउँदै स्वास्थ्य स्वयम्सेविकाहरुले नसर्ने रोगबारे जनतालाई प्रष्ट गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइले स्वास्थ्य स्वयम्सेविकाहरुले जनप्रतिनिधि र जनताबीच समन्वयकारी भूमिका खेल्दै नगर विकासमा सकारात्मक भूमिका निर्वाह गर्दै आइरहेको जानकारी दिए । ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले महिला स्वास्थ्य स्वयम्सेविकाहरु स्वास्थ्य क्षेत्रका मेरुदण्ड र प्रेरणा स्रोत भएको बताउँदै उहाँहरुको मेहेनतले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको तर्क गरे ।

कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा, जिल्ला जनस्वास्थ्य भक्तपुरका प्रतिनिधि शान्तिराम खतिवडा र महिला स्वास्थ्य स्वयम्सेविका तारादेवी धन्छाले पनि आफ्ना धारणा राखेका थिए । २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा नगरप्रमुख प्रजापतिले उत्कृष्ट ३ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई नगद पुरस्कारसहित प्रशंसा–पत्र प्रदान गरेका थिए । सम्मानित हुनेमा स्वास्थ्यस्वयम् सेविका भक्तपुर नपा वडा नं. ७ का लक्ष्मीकेशरी तुईतुई, भनपा वडा नं. ५ का सजना सुवाल, भनपा वडा नं. २ का बबीमैंया लघु रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.