एजेन्सी । महिला चिकित्सकको बलात्कारपछि हत्याका दोषीलाई कडा सजायको माग गर्दै भारतभर चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।
भारत पश्चिम बंगालको कोलकातास्थित सरकारी अस्पताल केजी कार मेडिकल कलेज एन्ड हस्पिटलमा एक महिला चिकित्सकको हत्या भएपछि इन्डियन मेडिकल एसोसियसन–आईएमएको आह्वानमा शनिबारदेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरूले प्रदर्शन गरेका हुन ।
राजधानी दिल्लीमा स्वास्थ्य मन्त्रालयनजिकै सयौँ चिकित्सकले प्रदर्शन गरेको भारतीय समाचार माध्यमले जनाएका छन्। सरकारले भने स्वास्थ्यकर्मीहरूको सुरक्षा व्यवस्था सुधारका उपाय सुझाउन समिति गठन गरिने जनाउँदै काममा फर्किन आग्रह गरेको छ।
उनीहरुले सोमबार सडकमै राखी बाँधेका छन्। सोमबार रक्षा बन्धन परेको हुनाले उनीहरुले सडकमै राखी बाँधे। उनीहरूले दोषीलाई कठोर सजाय र आफूहरूको सुरक्षा प्रत्याभूतिको माग गरिरहेका छन्। सोमबार पनि हजारौँ चिकित्सकहरूले इमर्जेन्सीबाहेकका बिरामीको जाँच गरेनन् भने धर्ना जारी राखे।
पश्चिम बंगाल सरकारको प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै उच्च अदालतले मुद्दा हेर्ने जिम्मा प्रहरीको केन्द्रीय जाँच ब्युरो (सीबीआइलाई दिएको छ। यसैबीच उच्च अदालतले आरोपितको पोलिग्राफिक टेस्ट अर्थात् झुटो बोले–नबोलेको पत्ता लगाउने परीक्षण गर्न अनुमति दिएको छ।
यता सर्वोच्च अदालतले सो घटनाको स्वतः संज्ञान लिएको छ भने प्रधानन्यायाधीश डीवाई चन्द्रचुड नेतृत्वको तीन सदस्यीय इजलासले यस विषयमा आज सुनुवाइ गर्दै छ। घटनाको विरोधमा भारतका विभिन्न सहरमा प्रदर्शन जारी छ भने कोलकातामा कानुन व्यवसायीले पनि प्रदर्शन गरेका छन्।
यही अगस्ट ९ गते राति ३६ घण्टा लामो सिफ्टका क्रममा सेमिनार हलमा आराम गरिरहेका बेला महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो। सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिए पनि अहिलेसम्म सोही अस्पतालमा खटिएका सञ्जय राय नाम गरेको एक स्वयंसेवक प्रहरीलाई मात्रै गिरफ्तार गरिएको छ।
उक्त घटनापछि सरकारले कानुनमा संशोधन गर्दै बलात्कारीलाई मृत्युदण्डसम्मको कानुनी व्यवस्था गरेको थियो। कठोर कानुनका बाबजुद पनि महिलाविरुद्धको यौनजन्य हिंसा भारतमा ठुलो समस्याका रुपमा रहेको छ। पीडितको शव परीक्षण रिपोर्टमा चरम यातना र निसास्सिएर उनको मृत्यु भएको उल्लेख गरिएको भारतीय समाचार माध्यमले जनाएका छन्।
बलात्कारपछि घाँटी अँठ्याएर उनको हत्या गरिएको आंशका गरिएको छ। रिपोर्टमा उनको टाउको, गाला, ओठ, नाक ,देब्रे हात, देब्रे काँध, घुँडा, गुप्ताङ्गलगायत थुप्रै अङ्गमा चोट लागेको उल्लेख छ।
यसैगरी फोक्सोमा रक्तस्राव भएको र शरीरका अन्य भागमा रगत जमेको पाइएको उल्लेख गरिएको छ। यसअघि सन् २०१२ मा दिल्लीमा एउटा गुडिरहेको बसमा एक २३ वर्षीया विद्यार्थी निर्भयामाथि भएको सामूहिक बलात्कार र हत्याको घटनापछि भारतमा भएको बलात्कार र हत्याको यो अर्को ठूलो घटना हो।
