सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन प्रक्रिया अघि बढायो।
नेपाली सेनामार्फत परीक्षण उत्पादन सुरु।
अर्थ मन्त्रालयबाट आवश्यक बजेट निकासा भइसकेको।
सात वटा बन्द तथा रुग्ण उद्योगको सम्पत्ति–दायित्व मूल्याङ्कन (डीडीए) भइरहेको।
उद्योग सञ्चालनको मोडालिटी डीडीए प्रतिवेदनपछि तय हुने।
काठमाण्डौ, २१ असार । सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताउनुभयो । सरकारले २०८३ साल असार १८ गते हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सरकारको पुनः सञ्चालन गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको सचिव राउतले जानकारी दिनुभयो । पछिल्लो समयमा ७ वटा बन्द भएका अथवा रुग्ण उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन कार्य (डीडीए) रिपोर्ट बनाउने काम भइरहेको पनि उहाँले बताउनुभयो । कसरी सञ्चालन गर्ने भन्नेबारेमा भने डीडीए रिपोर्ट आएपछि मात्रै तय हुनेछ ।
वर्तमान सरकारको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सचिव राउतले उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट भइरहेका पहलबारे जानकारी दिनुभएको हो । २०६९ साल माघ १२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट खारेजीमा गएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि परीक्षण उत्पादन गर्न असार १८ गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको हो । रासस
