भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

हेटौँडामा १ सय २७ वटा उद्योग सञ्चालन

हेटौँडामा १ सय २७ वटा उद्योग सञ्चालन

मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्रमा दैनिक १ सय २७ वटा विभिन्न प्रकारका उद्योगहरू सञ्चालन भइरहेका छन् । तीमध्ये स्वदेशी उद्योगहरू मात्रै होइनन् बहुराष्ट्रिय कम्पनीसमेत रहेका छन् । हेटौँडा औद्योगिक क्षेत्रमा स्थापना भएका प्रमुख उद्योगहरूमध्ये खाद्य उद्योग प्रालि, युनाइटेड ब्रुअरी प्रालि, नेपाल बिस्कुट कम्पनी, नेपाल साबुन उद्योग, पशुको आहार उत्पादन प्रशोधन उद्योग, नेपालपोल उत्पादन प्रालि र काष्ठ फर्निचरलगायत छन् ।

उक्त औद्योगिक क्षेत्रमा गोरखालारी चुरोट उद्योग प्रालि, हेटौँडा दुग्ध वितरण आयोजना, नेपाल चियापत्ती उद्योग प्रालि, नेपाल खाने तेल उत्पादन उद्योग, नेपाल कार्टुन उद्योग प्रालि र नेपाल बोट्लर्स उद्योग प्रालि र नेपाल मदिरा उत्पादन उद्योग प्रालिसमेत रहेका छन् । यस क्षेत्रमा विगत दुई दशकअघि स्थापना भएका पुराना छ वटा उद्योग आर्थिक सङ्कटका साथै कच्चापदार्थको अभावमा बन्द अवस्थामा छन् ।

नेपाल सेन्थेटिक कपडा उद्योग, नेपाल छाला उद्योग प्रालि, नेपाल लाइभस्टक प्रालि, नेपाल वनस्पति घ्यू, नेपाल पोलिथिन प्लाष्टिक प्रालि र नेपाल दाना उद्योग प्रालि बन्द रहेका हेटौँडा औद्योगिक क्षेत्रले जनाएको छ । नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा कपडा उद्योग पनि २०५८ सालदेखि बन्द छ । उक्त औद्योगिक क्षेत्रमा अहिले बहुराष्ट्रिय कम्पनीसहित १२ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका र अगामी दुई वर्षभित्र ती उद्योगहरूले उत्पादन सुरु गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएका औद्योगिक क्षेत्रका वरिष्ठ अधिकृत रमेशकुमार नेपालले बताए ।

औद्योगिक क्षेत्रमा हाल सञ्चालनमा रहेका विभिन्न उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १५ हजार व्यक्तिले रोजगारीको अवसर प्राप्त गरेका छन् । विसं २०२० मङ्सिर २० गते अमेरिकी सरकारको आर्थिक अनुदान र प्राविधिक सहयोगमा तत्कालीन श्री ५ को सरकारले यहाँ हेटौडा औद्योगिक क्षेत्र स्थापना गरेको थियो । औद्योगिक क्षेत्र स्थापनाका क्रममा तीन हजार दुई सय २८ रोपनी जग्गा, हेटोँडा औद्योगिक क्षेत्र व्यवस्थापनलाई हस्तान्तरण गरिएको थियो ।

हाल औद्योगिक क्षेत्रमा विभिन्न उद्योगको स्थापनाका क्रममा एक हजार नौ सय ६१ रोपनी जग्गा सम्बन्धित उद्योगका व्यवस्थापकलाई वितरण गरी उद्योग सञ्चालन भइरहेका नेपालले जानकारी दिए । बाँकी रहेको एक हजार चार सय रोपनी जग्गा जगेडामा राखिएको छ । विभिन्न उद्योगका अतिरिक्त औद्योगिक क्षेत्र परिसरमा हाल इलाका प्रहरी कार्यालय, नेपाल बैङ्क सिटी अफिस, सशस्त्र प्रहरी बेस क्याम्प, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश माटो परीक्षण कार्यालय, हेटौँडा वितरण आयोजना र प्रदेश कृषि बीउबिजन कार्यालय सञ्चालन भइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.