भक्तपुर । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा यदि संसदीय छानिबिन समिति बन्यो भने नेकपा एमालेको संगठन गर्ल्याम्म–गुर्लुम्म ढल्ने दावी गरेका छन् । रफत सञ्चार क्लब भक्तपुरमा शनिबार आयोजित सञ्चार–संवाद कार्यक्रममा उनले भने, “ देशभरमा १० वटा सहकारीमध्ये ९ वटा एमालेद्वारा सञ्चालित छन् ।
एकाध माओवादीका होलान् । जुन दिन सहकारी छानबिन समिति गठन हुन्छ, त्यो दिन यो देशबाट एमाले–माओवादीको राजनीति समाप्त हुनेछ । त्यसैको डरले गर्दा रविमाथि छानबिन गर्न एमाले हिच्किचाइरहेको छ ।” उनले लोकतान्त्रिक आन्दोलनमा संलग्न नेपाली कांग्रेसलाई अहिले जताततैबाट पेलान सुरु भएकाले यो देशमा जुन दिन नेपाली कांग्रेस समाप्त हुन्छ त्यो दिन यो देशमा अभिव्यक्ति स्वतन्त्रतासँगै पत्रकारहरूको पनि कलम बन्द हुने बताए ।
सांसद थापाले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण गर्दै भने, “कांग्रेसलाई संसदमा पेल्ने काम हिजोबाट सदनमा सरकारले सुरवात गरेकाले अब कांग्रेस सडकमा जान वाध्य भयो भने म चुनौती दिन चाहन्छु, जुन दिन कांग्रेस सडकमा जान्छ त्यो दिनदेखि प्रचण्ड, ओली र रविजस्ताको राजनीतिक जीवन अन्त्य हुने दिन गन्ती सुरु हुनेछ । कांग्रेस पार्टी भने, न राणासँग डरायो, न राजासँग डरायो, कांग्रेसले अब कम्युनिस्ट उन्मूलनको राजनीति गर्नुपर्दछ । कांग्रेसलाई मात्र दोषारोपण गरेर देश समृद्धितर्फ आगाडि बढ्ने छैन ।”
उनले सहकारी प्रकरणमा छानबिन समिति गठन गर्ने भनेको ती मकै पोलेर भाडा माझेर जम्मा गरेको दुईचार पैसा जम्मा गरेका महिला दिदीबहिनी तथा दाजभाइहरूलाई न्याय दिनु रहेको स्पष्ट पारे । थापाले भने, ती मकै पोल्ने र भाँडा माझ्ने दिदि भाईको श्रापले यो सरकारलाई पत्तासाफ गर्ने छ । ती गरीब जनताले जम्मा गरेको पैसामा तर मार्नेहरूलाई ठेगान लगाउने गरी समाचार सम्प्रेषण गर्न थापाले अनुरोध गरे ।
उनले सरकारले अहिले संसदीय मूल्यमान्यताको घाँटी निमाठ्ने काम भएको आरोप लगाउँदै गृहमन्त्रीमाथि छानबिन गर्न सरकार डराउनुपर्ने स्थिति नभएको आफ्नो धारणा व्यक्त गरे । सांसद थापाले सञ्चारकर्मीहरूले पूर्वसञ्चारकर्मी भनेर रवि लामिछानेलाई जोगाउने काम नगरी वास्तविक स्थितिलाई साथ दिनुपर्ने आवश्यकता रहेको औंल्याए ।
