काठमाडौं, १८ फागुन । इरानले इजरायल र अमेरिकाबाट भइरहेको हमलाका विषयमा तत्काल ठोस र प्रभावकारी उपाय अपनाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई पत्र पठाउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको संरक्षणका लागि तत्काल कदम चाल्न माग गरेका हुन् ।
पत्रमा अमेरिका र इजरायललाई कथित आक्रमणका लागि पूर्ण रूपमा जवाफदेही बनाउनुपर्ने उल्लेख गरिएको छ । साथै, सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको कडा निन्दा गर्दै उक्त घटनालाई ‘कायरपूर्ण आतंककारी कार्य’ भन्दै अन्तर्राष्ट्रिय कानुनविरुद्धको कदम भएको दाबी गरिएको छ ।
अराघचीले यस्तो कार्यले स्थापित अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्नुका साथै अन्तर्राष्ट्रिय प्रणालीको स्थायित्वलाई कमजोर पार्ने खतरा रहेको उल्लेख गरेका छन् ।