भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

इरानसँगको वार्तामा ट्रम्प अझै असन्तुष्ट, सम्झौता नभए सैन्य कारबाही दोहोरिन सक्ने संकेत

इरानसँगको वार्तामा ट्रम्प अझै असन्तुष्ट, सम्झौता नभए सैन्य कारबाही दोहोरिन सक्ने संकेत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ताप्रति आफू अझै पूर्ण रूपमा सन्तुष्ट नरहेको बताएका छन् । उनले सहमति हुन नसके अमेरिका पुनः सैन्य कारबाहीतर्फ जानसक्ने संकेत समेत दिएका छन् ।

इरान र अमेरिकाबीच पछिल्ला दिनमा वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको चर्चा भइरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । उनका अनुसार तेहरान सम्झौता गर्न निकै इच्छुक देखिए पनि अहिलेसम्म ठोस सहमति भने बनिसकेको छैन । इरानी सरकारी टेलिभिजनले हालै सार्वजनिक गरेको कथित मस्यौदा सम्झौतामा हर्मुज जलडमरुमध्य पुनः सञ्चालनमा ल्याउने तथा उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्ने विषय उल्लेख गरिएको थियो । तर, ह्वाइट हाउसले उक्त दाबीलाई पूर्ण रूपमा असत्य र कपोलकल्पित भन्दै अस्वीकार गरेको छ ।

गत सातादेखि दुवै पक्षबीचको संवादमा केही प्रगति भएको संकेत देखिएपछि छिट्टै सम्झौता हुनसक्ने अनुमान गरिएको थियो । तर इरानले तत्कालै सहमति हुने अवस्था नरहेको स्पष्ट पारेको छ । यता ट्रम्पले पनि आफ्ना वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएका थिए । बुधबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले इरान अहिले कमजोर अवस्थाबाट वार्तामा सहभागी भइरहेको टिप्पणी गरे । ट्रम्पले भने, “उनीहरू जसरी पनि सम्झौता गर्न चाहन्छन् । मलाई लाग्दैन उनीहरूसँग अर्को विकल्प छ । उनीहरू निकै कमजोर अवस्थामा वार्ता गरिरहेका छन् ।”

उनले थपे, “अहिलेसम्म सबै कुरा मिलिसकेको छैन र हामी यसबाट पूर्ण रूपमा सन्तुष्ट पनि छैनौँ । पछि अवस्था बदलिन सक्छ । कि त सम्झौता हुनुपर्छ, होइन भने हामीले अर्को विकल्प रोज्नुपर्ने हुन सक्छ ।”त्यसैगरी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि वार्तामा केही प्रगति देखिएको बताएका छन् । उनका अनुसार आगामी केही घण्टा वा दिनभित्र थप उपलब्धि हासिल हुन्छ वा हुँदैन भन्ने विषय स्पष्ट हुने छ ।

बीबीसीका अनुसार ट्रम्प प्रशासन वार्ता सकारात्मक दिशामा अघि बढिरहेकोमा आशावादी देखिए पनि दुई देशबीच अझै केही महत्वपूर्ण विषयमा असहमति कायम रहेको बताइएको छ । यद्यपि ती विवादित विषय सार्वजनिक गरिएको छैन ।

 


Thali Mobile Pvt.Ltd.