काठमाडौं, २४ चैत । नेपाली चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त आज बिहान काठमाडौंको बूढानीलकण्ठ मन्दिर परिसरमा सम्पन्न भएको छ। शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए। चलचित्रको छायांकन भोलिबाट काभ्रेपलान्चोकको पनौतीबाट सुरु हुँदैछ, जसको सेड्युल ४० दिनको छ। पाल्पा र काठमाडौंमा पनि छायांकन हुने निर्माण पक्षले जनाएकाे छ ।
हिमाल न्यौपानेको डेब्यू निर्देशनमा बन्न लागेको यो चलचित्रमा विजय बराल, केकी अधिकारी, रियर राईलगायत कलाकारको अभिनय रहनेछ। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । पेपरक्लिप प्रालिको ब्यानरमा विमल न्यौपाने निर्माता रहेका छन्। कार्यकारी निर्माताहरूमा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर छन्।
चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिको जीवनमा आएको परिवर्तन र आमा-छोराको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्ने बताइएकाे छ । मिरुनाले आफ्नो विशेष भूमिकाप्रति उत्साह व्यक्त गरिन् भने सुशांकले १० वर्षपछि सिनेमामा फर्किएको खुसी व्यक्त गरे । असोसियट निर्देशक मनिष राउतले यसमा सबै नेपालीको कथा समेटिएको बताए। चलचित्रमा संगीत थानेश्वर गौतम र एस डि योगीको रहेछ भने छायांकन नवीन गुरुङले गर्नेछन्।