जयगढ आगलागी पीडितलाई सुदूरपश्चिम सरकारको ५० लाख राहत, अवस्था बुझ्न २ मन्त्री खटाइयो

जयगढ आगलागी पीडितलाई सुदूरपश्चिम सरकारको ५० लाख राहत, अवस्था बुझ्न २ मन्त्री खटाइयो

कैलाली,  २७ चैत । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा मंगलबार बेलुकी (चैत २६, २०८१) भएको आगलागीबाट प्रभावित परिवार र व्यवसायीलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

बुधबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकले यो निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता आमोद दाहालका अनुसार बान्नीगढी जयगढ गाउँपालिकामार्फत पीडितलाई राहत वितरण गर्न ५० लाख रुपैयाँ प्रदान गरिनेछ।

जयगढ बजारको वडा नम्बर ३ मा रहेको पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा सिलिन्डर विस्फोट भएपछि आगलागी फैलिएको थियो। आगोले २८ घर र टहरा जलेर नष्ट भएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्कअनुसार २ पक्की घर, १० ढुङ्गा-माटोका घर, १५ टिनले बनेका घर र एउटा सभाहल जलेका छन्। प्रारम्भिक अनुमानअनुसार ७ करोड ५४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागी नियन्त्रणमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दा र मंगलसेन नगरपालिकाको दमकलको सहयोग लिएको थियो। प्रदेश सरकारले मानवीय सहायताका लागि तत्काल ५० लाख रुपैयाँ उपलब्ध गराउने र क्षतिको पूर्ण विवरण आएपछि थप सहयोग गर्ने जनाएको छ। प्रवक्ता दाहालले राहत वितरणका लागि पालिकालाई स्पष्ट मापदण्ड बनाउन निर्देशन दिइएको बताए।

यसैबीच, पीडितको अवस्था बुझ्न र राहत वितरणमा सहजीकरण गर्न प्रदेश सरकारले सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला मन्त्री हिरा सार्कीलाई जयगढ पठाएको छ। मन्त्रीद्वय राहत सामग्रीसहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारले आगलागी प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणका लागि संघीय सरकार, स्थानीय पालिका र अन्य निकायसँग समन्वय र सहयोगको अपिल गरेको छ।

 


Thali Mobile Pvt.Ltd.