भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

अंग्रेज सेनालाई हराएको दिनः जितगढी विजयउत्सव

अंग्रेज सेनालाई हराएको दिनः जितगढी विजयउत्सव

रुपन्देही । नेपाली सेनाले अंग्रेज सेनालाई हराएको दिन वैशाख ७ गते । यो दिन बुटवलको जितगढीमा पराजित गरेको ऐतिहासिक दिन हो । १८७१ देखि १८७२ सम्म नेपाल–अंग्रेजका बीचमा विभिन्न स्थानमा युद्ध भएको थियो । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन । कुमाउ–गडवाल ९नाहान०, मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाई भएको थियो ।

बुटवलमा भने नेपालले जित हासिल गरेको थियो । कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि १८७२ साल वैशाख ७ गतेको दिनमा जित हासिल गरेको थियो । नेपाल–अंग्रेजबीच भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुसीयालीमा शुक्रबार जितगढी उत्सव गरिँदै छ ।जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको ९ फिट उचाइको पूर्णकदको तामाको शालिक निर्माण र ५५ फिटको टावरमा राष्ट्रिय झण्डा फहराइएको छ ।

जितगढीमा अंग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकहरूको शालिक निर्माण गरिएको छ । उक्त लडाइँमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सूर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, समशेर राना मगर र जुठे बस्नेतले विरगती प्राप्त गरेका थिए ।

बुटवलको तिनाउ नदी किनारमा रहेको जितगढीमा तीन वटा गणबाट खटिएका नेपाली सेनाका फौजसँगको लडाइँमा ३ सयभन्दा बढी अंग्रेज सैनिकको मृत्यु भएको थियो । जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो ।

पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो । जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे ।

यो लडाईंमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे । बुटवल गढी कब्जा गरी तत्कालीन पाल्पा राज्य हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यका साथ अंग्रेज गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जेनेरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको इतिहासका जानकार विमलबहादुर शाक्य बताउँछन् । जनरल ऊडकै नेतृत्वमा दुई पटक भएको आक्रमणमा बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेज फौजमाथि आक्रमण गरी विजय प्राप्त गरेको थियो ।

शाक्यका अनुसार आधुनिक हतियारमा आएका अंग्रेज फौजलाई कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली फौजले पराजित गरेपछि बुटवलगढीको नाम जितगढी रहन गएको थियो । अंग्रेजतर्फ ठूलो क्षति भयो । इतिहासका जानकारहरुका अनुसार पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजीरसिंह थापाले अग्रेजविरुद्धको युद्धमा विसं १८७२ मा विजय हासिल गरी विजय पताका फहराएका थिए । जितगढीको युद्धको झझल्को दिनेगरी नेपाली सेनाले वृत्तचित्र बनाएको छ । गतवर्षदेखि नेपाली सेनाले गोरखादेखि जितगढीसम्मको पदयात्रा संचालन गर्न थालेको छ । पुरानो बाटोबाट गोरखाबाट हिंडेको सेनाको पैदलयात्री ७ गते बुटवल आउने गर्दछन् ।

 


Thali Mobile Pvt.Ltd.