सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ । नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र अन्य सेवा प्रदायकको उपस्थिति नहुनुले यहाँ सञ्चार समस्या छ, जसका कारण यहाँ पुग्ने धार्मिक तथा अन्य पर्यटक सञ्चार सेवाबाट विमुख हुने गरेका छन् । जिल्ला सदरमुकाम सल्लेरीसँगै जोडिएको यस वडाको पिकेडाँडा र ज्वालामाई मन्दिर पर्यटकको रोजाइमा पर्ने स्थल हो ।
पिके डाँडाको पर्यटकीय महत्व
समुद्री सतहदेखि चार हजार ६५ मिटर उचाइमा रहेको यो डाँडा पर्यटकका लागि प्रमुख गन्तव्यका रूपमा परिचित छ । यहाँबाट सगरमाथा, ल्होत्से, मकालु, चो ओयुलगायत हिमालको अद्वितीय दृश्यावलोकन गर्न सकिन्छ । साथै, सुनपानी, चिमल र लालीगुँराससहितका हिमाली वनस्पति नजिकबाट अवलोकन गर्ने अवसरले यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको स्थानीय बताउछन् ।
जसका कारण विभिन्न ट्रेकिङ कम्पनीले सिजनमा पिके पिक ट्रेकसमेत सञ्चालन गर्ने गरेका छन् । पर्यटन व्यवसायी फुर्वा शेर्पाका अनुसार पिके डाँडामा हरेक वर्ष करिब १५ हजार स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् ।
सञ्चार नै चुनौती
सञ्चार सेवा कमजोर भएकै कारण कतिपय पर्यटक बाटो भुलेर सम्पर्कविहीन हुने र उद्धारमा ढिलाइ हुने समस्या देखिने गरेको होटल व्यवसायी गेलु शेर्पाले बताए । पाँच वर्षअघि सल्लेरीका युवा पूर्णबहादुर खड्काको पिकेडाँडा भ्रमणमा जाने क्रममा हराएर ज्यान गयो । त्यहाँबाट फर्कने क्रममा साथीसँग छुटेका खड्का रातको समयमा भिरबाट लड्दा घटनास्थलमै मृत्यु भएको थियो ।
खड्कालाई सम्पर्क गर्ने प्रयास गरिए पनि टेलिफोन नलाग्दा समस्या भएको स्थानीय सम्झन्छन् । त्यसको भोलिपल्ट खोज्ने क्रममा पिके खोप भन्ने स्थानमा लडेको अवस्थामा उनको शव भेटिएको थियो । यो त प्रतिनिधि घटना मात्रै हो । पिके क्षेत्रमा सञ्चार सम्पर्कबाट टुट्दा पर्यटक अलपत्र पर्ने तथा बिचल्ली हुने घटना सामान्यजस्तै बनेको लोदिङका ल्हाक्पा ग्याल्जेन शेर्पाले बताए ।
सल्लेरीबाट अघि बढेदेखि नै कम्जोर हुने गरेको सञ्चार सम्पर्क पिकेडाँडा क्षेत्र पुग्दा पूर्ण रूपमा नै विच्छेद हुने गरेको उनको भनाइ छ । पिकेभन्दा तलको गाउँ तामाखानी, लोदिङ गाउँ समेतमा सञ्चार सेवा कम्जोर भएकाले झनै सास्ती खेप्नुपरेको स्थानीय बताउछन् ।
ज्वालामाई मन्दिर
सोलुदुधकुण्ड नगरपालिका–३ क्षेत्रमै अवस्थित ज्वालामाई मन्दिर क्षेत्रको समस्या पनि यस्तै छ । चिताएको पूरा हुने जनविश्वासका कारण यो मन्दिरमा हरेक वर्ष करिब ३० हजार भक्तजन आउने गरेका छन् तर भरपर्दो सञ्चार सेवा नहुँदा भक्तजनलाई समस्या हुने गरेको छ । यसकारण धार्मिक तथा प्रकृतिप्रेमी पर्यटकमा नकरात्मक छाप पर्ने गरेको स्थानीय आङ पुला शेर्पाको भनाइ छ । तामाखानी क्षेत्रका स्थानीयले सञ्चार सम्पर्क गर्न डाँडामा जानुपर्ने बाध्यता कायमै रहेको उनले बताए ।
स्थानीयको गुनासो
सोलुदुधकुण्ड नगरपालिका–३ का स्थानीय बासिन्दा र व्यवसायीले पटकपटक गुनासो गर्दा पनि समस्या समाधानमा कसैले चासो नदेखाएको गुनासो गरेका छन् । पिके सामुदायिक वन तामाखानीका अध्यक्ष सन्तबहादुर मगरले धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्रमै सञ्चारलगायत पूर्वाधारमा ध्यान नदिनु दुःखद भएको बताए ।
नेपाल टेलिकम शाखा कार्यालय ओखलढुङ्गाका प्रमुख राजु रानाका अनुसार यहाँ समस्या समाधानको प्रयास नभएको होइन । सल्लेरीस्थित च्यानडाँडाको रेडियो लिङ्कको क्षमता बढाएर समस्या समाधानको प्रयास भए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । यहाँको पर्यटनलाई प्रवर्द्धन गर्न भरपर्दो सञ्चार सेवाका लागि सरोकार भएका निकायलाई आग्रह गरे ।
