काठमाडौं, ५ असार । मितेरी सहकारीमा करोडौं रकम अपचलन गरेको अभियोगमा फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र इन्टरपोलको सहकार्यमा उनलाई काठमाडौं ल्याइएको हो।
भण्डारीको पक्राउसँगै नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसमेतको नाम जोडिएको बहुचर्चित ठगी प्रकरणमा अनुसन्धानले अब गति लिने विश्वास गरिएको छ। सहकारी हिनामिनाका मुख्य आरोपीमध्ये रहेका धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङ भने अझै फरार छिन्।
प्रहरी अनुसन्धान अनुसार, ज्योति गुरूङले कार्यकारी प्रमुखको जिम्मेवारीमा रहँदा सहकारीको कम्तीमा ६ करोड रुपैयाँ अपचलन गरेको दाबी गरिएको छ। उनले रकम झन धेरै हुने प्रलोभनमा परी ५० भन्दा बढी व्यक्तिको खातामा रकम जम्मा गराइ ज्योतिबहादुर भण्डारीलाई बैंककमा पठाएको प्रारम्भिक तथ्य पत्ता लागेको सीआईबी स्रोत बताउँछ।
सञ्चालक समिति सदस्यहरूले ज्योति गुरूङले २०७५ सालमा प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएपछि वित्तीय अपचलन सुरु गरेको र त्यो सिलसिला बढ्दै गएको दाबी गरेका छन्। भण्डारीलाई पक्राउ गरी ल्याइएपछि अब यो ठगी प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको भूमिकासमेत छानबिनको दायरामा पर्ने प्रहरीको भनाइ छ।
इन्टरपोलमार्फत रेड नोटिस जारी गरी खोजी गरिएको भण्डारीलाई कम्बोडियामा फेला पारिएको हो। अहिले उनलाई सीआईबीको हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ।
यस प्रकरणमा सहकारीका धेरै पीडितले सरकारी निकायमा उजुरी दिँदै आएका छन् भने धनराज गुरूङको राजनीतिक र पारिवारिक संलग्नता भएकाले अनुसन्धानमा ढिलाइ भएको आरोप समेत लाग्दै आएको छ। सम्पर्कमा नआएको फरार आरोपी ज्योति गुरूङको खोजी अझै जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
