भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

मुख्य बुँदा 

किसान जनकलाल डगौरा धान काटिसकेपछि जिरो टिलेज प्रविधिबाट लसुन रोप्दै।

पाँच कट्ठामा लसुन रोपेर करिब रु. ९० हजार आम्दानी।

जिरो टिलेजले खेत जोत्नुपर्ने झन्झट, समय र लागत घटाउँछ, उत्पादन बढाउँछ।

उत्पादन चिस्यानमा रोपाइ, गोठेमल/परालले छोप्ने, जैविक विषादी प्रयोग।

स्थानीय बजारमा माग उच्च र गानो ठूलो, स्वादिलो हुने भएकाले बिक्री सहज।

कञ्चनपुर, ८ कार्तिक । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन् । खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने कार्यमा डगौरा व्यस्त छन् ।

दशकअघि देखि गाउँमा आएका कृषि प्राविधिकको सल्लाहमा उनले शून्य खनजोत अर्थात् जिरो टिलेज प्रविधि अपनाउँदै डगौराले बर्सेनि लसुनखेती गरेर आम्दानी गर्दै आएका छन् । “पहिले खेत जोतेर क्यारी बनाएर लसुन रोप्थ्यौँ, उत्पादन थोरै हुन्थ्यो,” उनले भने, “खनजोत नगरी सिधै रोप्दा गानो ठूलो हुन्छ, उत्पादन पनि राम्रो हुन्छ ।”

त्यसैले यस प्रविधिमा लसुन रोप्ने कार्यलाई निरन्तरता दिँदै आएको उनले बताए । डगौराले पाँच कट्ठा जग्गामा लसुन रोप्ने गर्नु हुन्छ । यसबाट रु ९० हजार आम्दानी हुने गरेको छ । उनका अनुसार धान काटिसकेपछि चिस्यान रहेको खेतमा सिधै गाँजको बीचमा कुटोको सहायताले लसुनका पोटी ९केस्रा० रोप्ने गरिन्छ ।

चिस्यान नभएमा सिँचाइ गरी लसुन रोप्ने कार्य हुन्छ । लसुन रोपेपछि त्यसपछि गोठेमल छर्की परालले छोप्ने गरिएको अर्का किसान विनोद डगौराले जानकारी दिए । पिपलाडीका किसानले लसुनखेतीलाई नगदे बालीका रूपमा आत्मसात् गर्दै आएका छन् । प्रत्येक परिवारले एकदेखि पाँच कट्ठासम्म जग्गामा जिरो टिलेज प्रविधिबाट लसुनखेती गर्दै आएका छन् ।

एक कट्ठामा करिब दुई क्विन्टलसम्म उत्पादन हुने र याममा प्रतिकिलो रु तीन सय देखि रु पाँच सय सम्ममा बिक्री हुने गर्दछ । यसबाट किसानले प्रतिकट्ठामा रु ३० हजारका दरले आम्दानी गर्दै आएका छन् । “पहिले खानकै लागि पनि लसुन किन्नुपथ्र्यो, अहिले घरको खपतपछि बाँकी बिक्री हुन्छ,” चामबहादुर डगौराले भने, “व्यापारी आफैँ घरमै आइपुग्छन् ।”

स्थानीय बजार झलारी र महेन्द्रनगरमा जिरो टिलेजमा उत्पादन भएको लसुनको माग उच्च रहेको चुन्नुलाल डगौराले बताए । “धानको गाँजमा बढेको लसुनको गानो ठूलो र खानमा स्वादिलो हुने भएकाले बजारमा चाँडै बिक्री हुन्छ,” उनले भने ।

जिरो टिलेज खेती प्रविधिले खेत जोत्नुपर्ने झन्झट र लागत घटाएको नगरपालिकाको कृषि शाखाका कृषि विकास अधिकृत विनयराज जोशीले बताए । यस प्रविधिमा माटोको संरचना नबिगारी खेतको चिस्यानलाई नै उपयोग गरी बाली लगाइन्छ । उनका अनुसार जिरो टिलेज प्रविधिमा गरिने लसुनखेतीमा थोरै परिश्रममा धेरै आम्दानी हुने भएकाले पिपलाडीसहित नगरपालिकाको अन्य क्षेत्रका किसानको आकर्षण यस खेतीतर्फ बढ्दै गएको छ ।

“धान काटेको एकदेखि दुई दिनपछि गाँजको ठुटो करिब दुई इन्चमा काटेर त्यसैमा कुटो वा अन्य फलामका औजारको सहायताले लसुन रोपिन्छ,” उनले भने, “त्यसपछि खेतमा १० सेन्टिमिटर बाक्लो पराल, भुस वा खरको छापो दिनुपर्दछ, यसले खेतमा चिस्यान कायम रहनाका साथै झारपात रोक्ने र माटोमा जैविक पदार्थ थप्ने काम गर्छ ।”

जिरो टिलेज प्रविधिमा लसुन रोप्दा गोडमेलको आवश्यकता नपर्ने र झारपात देखिएमा मात्रै हटाउनुपर्ने हुन्छ । यस प्रविधिबाट गरिएको लसुनखेतीले समय, श्रम र लागत घटाउनाका साथै जमिनको उर्वरा शक्ति कायम राख्छ । जलवायु अनुकूलनका दृष्टिबाट पनि यो प्रविधि प्रभावकारी छ । रोग कीरा व्यवस्थापनका लागि किसानले गाईको गोबर, गहुँत र निमको रसबाट बनेको घरेलु जैविक विषादी प्रयोग गर्दै आएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.