भर्खरै : Sorry, your browser does not support inline SVG.

पहिलो पटक कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र

पहिलो पटक कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र

सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र पारिएको छ । भौतिक संरचना निर्माण धमाधम चलिरहेको छ । प्रतियोगितालाई समग्र कर्णालीको प्रतिष्ठाका रुपमा हेरिएको छ । तोकिएकै मितिमा प्रतियोगिता सञ्चालनका लागि भौतिक संरचना करिब तयारी अवस्थामा रहेको बताइएको छ । तर प्रतियोगिताको मिति जति नजिकिँदै छ, त्यति नै प्रतियोगिता तोकिएकै मितिमा हुने नहुनेमा अन्यौलता छाएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब करिब साढे दुई महिनामात्र बाँकी छ । प्रतियोगिताको मिति नजिकिँदै गर्दा सरकार परिवर्तन भएसँगै प्रतियोगिता केही समय पछाडि धकेलिने चिन्ता व्यक्त गरिएको छ । केही दिनअघि दशौँ राष्ट्रिय खेलकुदसम्बन्धी छलफल गर्न सुर्खेत आउनुभएका खेलकुदमन्त्री तेजुलाल चौधरीले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्नलाई तयारी नपुग भएको बताएपछि निर्धारित मितिमा प्रतियोगिता नहुने सङ्केत देखिएको हो ।

मङ्सिर २ देखि ९ गतेसम्म आयोजना गर्ने भनिएको प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक भइसकेको छ भने प्रदेश खेलकुद विकास परिषद्ले एक सय दिनको काउन्टडाउन पनि सुरु भएको बताएको छ । सो कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलले सबै तयारी पुगेपछि मात्रै दिनगन्ती गर्न सुरु गर्नुपर्ने बताएका थिए । कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले भने प्रतियोगिता पूर्वाधारले सार्नुपर्ने अवस्था नरहेको बताए ।

आफू अनुकूलका पदाधिकारी नियुक्तिपछि मात्रै प्रतियोगिता गर्ने रणनीति बनाएको जनाउँदै सरोकारवालाले तोकिएकै समयमा प्रतियोगिता गर्न माग गरेका छन् । दशौँ राष्ट्रिय खेलुकद प्रतियोगिताअन्तर्गत कर्णालीमा खेलाउन सकिने खेलको वर्गीकरण गरेर १० वटै जिल्लामा सञ्चालन गर्ने तयारी भइरहेको छ । प्रतियोगिता तोकिएकै मितिमा हुने वा नहुने भन्ने प्रष्ट नहुँदा खेलाडी पनि अन्यौलमा परेको कराँते प्रशिक्षक प्रदीप राई बताउँछन् ।

अहिले कर्णाली प्रदेशसभामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा नै हुनुपर्ने सांसदहरुले माग गरेका छन् । प्रदेशसभा सदस्य, कृष्णबहादुर जिसीले प्रतियोगिता नजिकिँदै गर्दा आयोजक सङ्घीय सरकार सुतेर बसेको भन्दै अब उठ्न आग्रह गरेका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.