सुर्खेत, २७ जेठ । मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ।
जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत र पिपल इन निड (पिन) प्रतिबद्ध–३ परियोजनाको सहकार्यमा आयोजित फोरममा प्रदेश तथा स्थानीय तहका सरोकारवालाबीच मनसुन पूर्वतयारी र विपद् व्यवस्थापनका विषयमा छलफल गरिएको हो।
फोरममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णालीका ३० स्थानीय तहमा अझै मौसम मापन केन्द्र नभएकाले ती स्थानमा आवश्यक उपकरण स्थापना गर्न प्रदेश सरकारले पहल गर्ने बताए।
जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतकी प्रमुख डा. इन्दिरा कँडेलले जल तथा मौसमजन्य विपद् जोखिम न्यूनीकरणमा विभागको भूमिका र मनसुन सिजन २०८३ को जलवायु आकलनबारे प्रस्तुति दिएकी थिइन्।
त्यस्तै पिपल इन निड (पिन) प्रतिबद्ध–३ परियोजनाका कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले मनसुन पूर्वतयारी र सम्भावित प्रभावबारे जानकारी दिँदै यस वर्ष देशभर ५९ हजार ८६८ घरपरिवारका करिब २ लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने अनुमान प्रस्तुत गरे।
उनका अनुसार प्रभावितमध्ये ५१.१० प्रतिशत महिला र ४८.९० प्रतिशत पुरुष रहने अनुमान गरिएको छ। साथै २१ प्रतिशत वृद्धवृद्धा, ८ प्रतिशत बालबालिका, २.५ प्रतिशत अपाङ्गता भएका व्यक्ति तथा २ प्रतिशत प्रजनन उमेर समूहका महिला उच्च जोखिममा रहने उल्लेख छ।
क्षेत्रगत विवरणअनुसार सबैभन्दा बढी प्रभावित लुम्बिनी प्रदेशमा ५१ हजार ६२६ परिवार र कर्णाली प्रदेशमा १३ हजार १७५ परिवार प्रभावित हुने अनुमान गरिएको छ।
फोरममा सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालयका सचिवहरू, आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रतिनिधि, विकास साझेदार तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
