भर्खरै : Sorry, your browser does not support inline SVG.

काठमाडौंमा गुञ्जियो कर्णालीको स्वर : पीडा, पहिचान र अधिकारका आवाजले ततायो नेपाल पुलिस क्लब

काठमाडौंमा गुञ्जियो कर्णालीको स्वर : पीडा, पहिचान र अधिकारका आवाजले ततायो नेपाल पुलिस क्लब

मुख्य बुँदा

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सव सम्पन्न।

कर्णालीको पीडा, पहिचान, संस्कृति र अधिकारका विषय गीत तथा प्रस्तुतिमार्फत उठाइयो।

प्रकाश अधिकारीले देउडा गीतमार्फत कर्णालीको विकास अभावको पीडा सुनाए।

दैलेखी दुलाल भाका विशेष आकर्षण बन्यो।

कर्णालीका दर्जनौँ कलाकारहरूको प्रस्तुति।

कर्णालीको पर्यटन, संस्कृति र प्राकृतिक स्रोतको प्रवर्द्धनमा जोड।

पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासहित विभिन्न व्यक्तित्वको सहभागिता।

काठमाडौं, २४ जेठ । राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब शनिबार कर्णालीमय बन्याे । नरहरिनाथ गाउँपालिका, कालिकोट र कर्णाली कलाकार प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा सम्पन्न ‘कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ ले कर्णालीका कला, संस्कृति, पहिचान, विकास र अधिकारका आवाजलाई राजधानीको केन्द्रमा पुर्‍याएको हो।

कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका कलाकारहरूले देउडा, माघल, झोडा, हुड्के नाच, दमाहा नाच, मयुर नाच, सुर्खेती टप्पा, सल्यानी भाका, दुलाल भाका, ठाडी भाका, सिगारु नृत्यलगायतका मौलिक सांस्कृतिक प्रस्तुति दिएका थिए। एकै मञ्चमा कर्णालीका विविध सांस्कृतिक रूपहरू प्रस्तुत हुँदा सहभागीहरूले आफ्नो जन्मभूमिको झल्को महसुस गरेका थिए।

कार्यक्रममा कलाकार लाेक सम्राट राजु परियारको प्रस्तुति पनि आकर्षणको केन्द्र बनेको थियो। उनले देउडा तथा दोहोरी गीतमार्फत माहोललाई थप उत्साहित बनाएका थिए। उनका गीतसँगै दर्शक तथा अतिथिहरूसमेत नाचगानमा रमाएका थिए।

काठमाडौंमा कर्णालीको सांस्कृतिक महाकुम्भ, पीडा, पहिचान र अधिकारका आवाज गुञ्जिए

महोत्सवमा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले कर्णालीको मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताए। एकदिने कार्यक्रमले कर्णालीका सम्पूर्ण सांस्कृतिक आयाम समेट्न कठिन हुने भन्दै आगामी दिनमा अझ बृहत् रूपमा महोत्सव आयोजना गर्न सुझाव दिए।

कर्णाली कलाकार प्रतिष्ठान काठमाडौंकी अध्यक्ष टिका पुनले कर्णालीलाई केवल पीडाको भूगोलका रूपमा नभई प्राकृतिक स्रोत, संस्कृति र पर्यटनको धनी क्षेत्रका रूपमा बुझ्नुपर्ने बताइन्। उनले कर्णालीका मुद्दा राज्यका नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको स्पष्ट पारिन्।

महोत्सवको विशेष आकर्षणमध्ये राष्ट्रिय कलाकार विनोद विश्वकर्मा र सपना शाहीको प्रस्तुति पनि रह्यो। उनीहरूले दैलेखको प्रसिद्ध दुलाल भाका प्रस्तुत गर्दा दर्शकहरू निकै भावुक बनेका थिए। दैलेखको मौलिक संस्कृति र लोकजीवन झल्काउने उक्त भाकाले उपस्थितलाई दैलेखकै गाउँघर पुगेको अनुभूति गराएको थियो। हलभरि तालीको गडगडाहटसँगै दर्शकहरू भाकामा झुमेका थिए।

यस्तै कर्णालीका चर्चित कलाकार टिका पुन, सुरेश शाही, महेन्द्र शाही रास्कोटी, दिलु सुनार, विपना सिंह, कृष्ण रेउले लगायतका कलाकारहरूले आ–आफ्ना लोकप्रिय प्रस्तुति दिएका थिए। सुर्खेती टप्पा, हुम्ली देउडा, मुगाली चम्पा नृत्य, जुम्ली माघल तथा जाजरकोटको सिगारु नृत्यले दर्शकको मन जितेको थियो।

काठमाडौंमा कर्णालीको सांस्कृतिक महाकुम्भ, पीडा, पहिचान र अधिकारका आवाज गुञ्जिए

महोत्सव आयोजक तथा नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले कर्णालीको कला, संस्कृति, पर्यटन र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले कर्णालीको पहिचान संरक्षण र पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

महोत्सवमा कलाकार प्रकाश अधिकारीले देउडा गीतमार्फत कर्णालीको विकास अभाव, सडक पूर्वाधारको कमजोरी, अकालमा गुम्ने जीवन र लामो समयदेखि सञ्चालनमा आउन नसकेको कालिकोटको सुनथराली विमानस्थलको विषयलाई मार्मिक रूपमा प्रस्तुत गरेका थिए।

कलाकारहरूले गीत र प्रस्तुतिमार्फत कर्णालीका जलस्रोत, जडीबुटी, खनिज सम्पदा, पर्यटन सम्भावना र प्राकृतिक स्रोतको उचित सदुपयोग गर्न राज्यको ध्यानाकर्षण गराएका थिए। अधिकांश प्रस्तुतिमा कर्णालीको समृद्धि र सम्भावना हुँदाहुँदै पनि अपेक्षित विकास हुन नसकेको विषय प्रमुख रूपमा उठाइएको थियो।

दिनभर चलेको महोत्सवमा कर्णालीका विभिन्न जिल्लाबाट काठमाडौंमा बसोबास गर्ने नागरिक, कलाकार, पत्रकार, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। देउडाको लय, लोकभाकाको मिठास र सांस्कृतिक प्रस्तुतिले नेपाल पुलिस क्लबलाई एक दिनका लागि कर्णालीकै सांस्कृतिक केन्द्रमा रूपान्तरण गरेको अनुभूति गराएको थियो।

 


Thali Mobile Pvt.Ltd.