काभ्रेपलान्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सञ्चालित आइपिएम कृषक पाठशालामा कृषक दिवस मनाईएको छ ।
कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर वडा नं ३ र ४ मा सञ्चालन भएको प्राङ्गारिक बिधिकोले सञ्चालने गरेको उक्त पाठशालामा शनिबार कृषक दिवस मनाइएको हो ।
कृषक दिवसको अवसरमा कृषकले प्राङ्गारिक बिधिको आइपिएम कृषक पाठशालामा सिकेका ज्ञान, सीप, दक्षता र क्षमतालाई गीत, कविता, अभिनय, प्रदर्शनी लगायतका बिधीबाट व्यक्त गरिएको हो ।
कार्यक्रममा मन्डनदेउपुर नगर प्रवक्ता एबं नगरपालिका वडा नं ३ का वडा अध्यक्ष पुरुषोत्तम बजगाईँले संस्थाको सहयोगले प्राङ्गारिक कृषि मार्फत स्वस्थ कृषि उपजको उत्पादन र उपभोग गर्ने कृषक तथा उपभोक्ता बृद्दी भएको बताउँदै वडा तथा पालिकाबाट प्राङ्गारिक कृषि उपजका लागि साझेदारी अवधारणामा काम हुन थालेको जानकारी दिनुभयो ।
उहाँले उत्पादनलाई ठुला सहरमा बजारीकरणको पहल गर्न आफु अग्रसर भएको र त्यसका लागि कृषकले ईमान्दारीपूर्वक गुणस्तरीय उत्पादन, प्रमाणीकरण र प्याकेजिङमा सहयोग गर्न आग्रह गर्नुभयो।
“कृषकलाई मित्रु र शत्रुजीव पहिचान गर्न सिकाएर स्थानीय रुपमा उपलब्ध जैविक विषादी र मलको प्रयोगमार्फत स्वच्छ र प्राङ्गारिक प्रमाणित व्यवसायिक कृषि उपज उत्पादन गर्ने उद्देश्यले पाठशाला सञ्चालन गरेको र हरेक समूहका प्राङ्गारिक समर्पित कृषकलाई हप्ताको एक दिन दुई घण्टाका दरले प्राविधिक र व्यवहारिक ज्ञान प्रदान गरिरहेको सन्दर्भमा सिकाई मुल्याङ्कन एवं मापनका लागि कृषक दिवसले महत्व राख्ने आस्क नेपालका अध्यक्ष रुकुमदत्त शर्माले बताउनुभयो ।”
शर्माका अनुसार प्रयोगात्मक अभ्यासका लागि लगभग एक रोपनी जमिनमा दुईबटा पल्ट बनाएर कृषक तरिका र प्राङ्गारिक तरिकाले सामुहिक खेती गरिएको र खर्च बिष्लेषण गर्दा मनग्गे फाइदा भएको समेत जानकारी दिनुभयो ।
समापन समारोहमा त्रिकोण डेनमार्कका नेपाल संयोजक रविन बोगटीले खेतीबालीमा शत्रुजीव मात्र हुँदैन, मित्रजीव पनि हुन्छन् भन्ने ज्ञानको कमी कृषकमा छ ।
कुन जिव मित्र र शत्रु हो भन्ने पहिचान नगरी जथाभावी विषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शत्रु जीवलाई जैविक विषादीबाट धपाउने, नष्ट गर्ने ज्ञान, सीप पाठशालामार्फत दिईएको छ अव यसलाई आफ्नो करेसा र व्यवसायोक प्लटबाट संस्थागत गर्न जरुरी हुने बताउनुभयो ।
आपसी सहयोग केन्द्रका कार्यक्रम प्रमुख हरीप्रसाद ढकालले स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाइभैँसीको मुत्र र जैविक विषादीको प्रयोगबाट रोगकिरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको बताउनुभयो ।
“तितेपाती, असुरो, खरानी, गाइभैँसीको मुत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गरी स्वच्छ कृषि उपज उत्पादन बढाउने र भान्सा स्वस्थ बनाउने बारे सैद्धान्तिक र व्यवहारिक ज्ञान कृषकले हासिल गरेको र रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि पिजिएस प्रमाणीकरण सहितको प्राङ्गारिक खेती गर्न थालेकोमा हार्दिक धन्यवाद् दिनुभयो ।
आपसी सहयोग केन्द्र नेपाल काभ्रे शाखाले काभ्रे एकिकृत ग्रामीण शसक्तिकरण कार्यक्रम अन्तरगत मण्डन देउपुरको वडा नं ३ र ४ मा भएका कृषक समूहका प्राङ्गारिक समर्पित कृषक सदस्य १६ हप्ताका लागि ३०-३० जनाको सहभागितामा जुकेनी फर्सी र काँक्रो खेतीमा प्राङ्गारिक कृषक पाठशाला सञ्चालन भएको आपसी सहयोग केन्द्र काभ्रे शाखाका कार्यक्रम प्रवन्धक प्रह्लाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
समारोहमा इको हिमालका कृषि प्राविधिक उमा वस्नेत, समाजसेवी ऋषिराम सापकोटा, आस्क नेपालका कृषि प्राविधिक जगत शाही र प्रमिला लामा, कृषक प्रतिनीधिहरु दावा धोर्जे लामा, राजकुमार तामाङ, लोकेन्द्र बहादुर मगर, राजेन्द्र तिमिल्सिना, रत्न प्रसाद गौतम, सुस्मिता लामा, अम्विका तिमिल्सिना लगायतले आ-आफ्नो अनुभव राख्नु भएको थियो ।
मण्डनदेउपुर पिजिस कृषक समूहका अध्यक्ष प्रेम तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त समारोहको सञ्चालन प्राङ्गारिक कृषक पाठशाला सञ्चालन समितिका सचिव टंक प्रसाद सापकोटाले सञ्चालन गर्नुभएको थियो ।

