भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

कोरियामा एक लाख पाँच हजार पाँच सय नेपाली कामदार

कोरियामा एक लाख पाँच हजार पाँच सय नेपाली कामदार

काठमाडौं । आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरियामा नेपाली युवाको आकर्षक रोजगार गन्तव्य बनेको छ । अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गरेको हो । सन् २००८ देखि दक्षिण कोरियाले इपीएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । इपीएस सुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका छन् ।

वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको तथ्याङ्कानुसार हालसम्म नौ लाख १९ हजार छ सय ३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् । सन् २०२४ का लागि मात्रै हालसम्मकै बढी एक लाख ९९ हजार एक सय १३ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । हालसम्म पाँच लाख ४८ हजार सात सय ७१ जना भाषा परीक्षामा सहभागी भएका छन् ।

वैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने सङ्ख्या हालसम्म ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिला गरी एक लाख पाँच हजार पाँच सय ४४ जनाले रोजगारी प्राप्त गरिसकेको इपिएस शाखाका प्रमुख मैयाँ कँडेल बताइन् । कोरिया जान थालेको १७ वर्षका अवधिमा सबैभन्दा बढी सन् २०२३ मा १९ हजार छ सय ८९ जना दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

सन् २०२३ मा नेपाल कामदार बढी पठाउने मुलुक बन्न सफल भएको थियो । सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार दुई सय ८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् ।नेपालसहित इण्डोनेसिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, श्रीलङ्का, मङ्गोलिया, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बङ्गलादेश, कीर्गिस्तान, म्यानमार, टिमोर–लेस्टे, लाओस र ताजकिस्तानबाट श्रमिक भित्र्याउँदै आएको छ ।

नेपालले सन् २०१५ मा ‘वेष्ट प्राक्टिस आउटस्टयान्डिङ एवार्ड’समेत प्राप्त गरिसकेको छ । दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदार दक्षिण कोरिया पठाउन मन्त्रीस्तरीय सम्झौता भएको थियो । सन् २००८ देखि नेपाली श्रमिक रोजगारीका लागि दक्षिण कोरिया जान थालेका हुन् । अहिले पनि दक्षिण कोरियामा करिब ५० हजार नेपाली श्रमिकले काम गरिरहेको शाखाका निर्देशक कँडेलको भनाइ छ ।

दुई देशबीचको रोजगार सम्झौता प्रत्येक दुई–दुई वर्षमा नवीकरण हुँदै आएको छ । पछिल्लोपटक सन् २०२२ मा सो सम्झौता नवीकरण भएको थियो । दक्षिण कोरियाले भाषा परीक्षा, रोजगारीबाट फर्केर कम्प्युटर सीप परीक्षा पास गरेका (सिबिटी) र कम्पनी परिवर्तन नगरी पूरा अवधि काम गरी पुनः सोही कम्पनीमा जाने (कमिटेड) गरी तीन वर्गमा नेपाली श्रमिक लैजाँदै आएको छ ।

दक्षिण कोरिया जान प्रत्येक श्रमिकले परीक्षा, स्वास्थ्य परीक्षण, आवेदन फारम दर्ता, प्रवेशाज्ञा, बीमा, हवाई टिकट र प्रारम्भिक तालिमलगायत शीर्षकमा करिब एक हजार तीन सय ५० अमेरिकी डलर तिर्नुपर्छ । दक्षिण कोरिया रोजगारीमा रहेका श्रमिकले चार वर्ष १० महिना काम गर्न पाउँछन् । सो अवधि पूरा गरेपछि उनीहरु अनिवार्य रूपमा स्वदेश फर्कनुपर्छ ।

सुरुआती चरणमा कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजाने गरेको भए पनि पछिल्ला दिनमा रोजगारीका क्षेत्र फराकिलो बनाउँदै लगेको निर्देशक कँडेलको भनाइ छ । हाल दक्षिण कोरियाले पानी जहाजसम्बन्धी क्षेत्रमा पनि नेपाली श्रमिक लैजान थालेको छ भने वन तथा सेवा क्षेत्र पनि विस्तार गर्ने जानकारी गराएको छ ।

 


Thali Mobile Pvt.Ltd.