भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम

स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘एक वडा, एक नमूना’ कार्यक्रमअन्तर्गत ३२ वटै वडामा उत्पादन भएका फरक–फरक उत्पादनका आधारमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलालाले जानकारी दिइन् ।

प्रत्येक वडामा उत्पादन भएका सामग्रीलाई कोसेली घरमा जम्मा गर्ने र सोहीमार्फत बिक्री गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु पाँच लाख विनियोजना गरेको छ ।

स्थानीय स्रोतसाधनलाई परिचालन गरेर उत्पादन गर्न सकिने सामग्री गुन्द्रुक, सिन्की, मकै, विभिन्न प्रकारका अचार र काष्ठकलाबाट बनेका सामग्री कोसेली घरमार्फत बिक्रीका लागि राख्ने तयारी छ । यसका लागि अहिले ‘कोसेली घर सञ्चालन कार्यविधि’ निर्माणको चरणमा छ ।

बैंकमार्फत निःशुल्क कपडा वितरण
महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गत कपडा बैंक सञ्चालन गरी आवश्यक पर्नेलाई निःशुल्क वितरण गर्ने भएको छ । यसका लागि कार्यविधि तयार गर्ने काम भइरहेको छ । आगामी पुसभित्र कार्यविधि तयार गरिने र त्यसलगत्तै कपडा बैंक सञ्चालनमा ल्याउने तयारी छ ।

प्रमुख निरौलालाका अनुसार ३२ वटै वडामा कम्तीमा एक–एक कपडा सङ्कलन केन्द्र राखिने छ । वडामा सङ्कलन भएको कपडाका लागि महानगरपालिकाले मर्मत केन्द्र तयार गर्नेछ । त्यस केन्द्रमार्फत जम्मा भएको कपडाको छनोट हुने र मर्मतपछि पनि प्रयोग गर्न नमिल्लेलाई महानगरपालिकाले सिरक, डसना बनाउने छभने सामान्य मर्मत वा मर्मत नै नगरी प्रयोग गर्न सकिनेलाई सोहीअनुसार प्याकिङ र वितरण गर्ने तयारी रहेको प्रमुख निरौलाले बताइन् ।

यसरी तयार गरिएको सामग्री महानगरपालिकाले आवश्यक भएको व्यक्तिलाई निःशुल्क वितरण गर्नेछ । कपडा बैंक सञ्चालनमा प्रयोगविहीन कपडाको प्रयोग बढ्नुका साथै कपडाजन्य वस्तुबाट हुने वातावरण प्रदूषणमा कमी आउने विश्वास गरिएको छ ।

कार्यविधि बन्ने चरणमा रहेकाले वितरणका लागि कति स्थान तय गर्ने भन्ने विषय अहिले नै यकिन नभएको उनले जानकारी दिइन् । यस कार्यक्रमका लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.