भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

मुख्य बुँदाहरू

१२ जिल्लामा व्यावसायिक कफीखेती सुरु, २ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा विस्तार।

५ हजारभन्दा बढी किसान संलग्न, इलाममा सबैभन्दा बढी उत्पादन।

२० करोड मूल्य बराबरको उत्पादन, आधाभन्दा बढी कफी निर्यात।

धनकुटा, मोरङ, पाँचथरमा उल्लेख्य क्षेत्र विस्तार, बोर्डको अनुदान सहयोग।

बजारको अभाव नभए पनि प्याकेजिङ, गुणस्तर र ट्रेडमार्कको अभाव, अन्तर्राष्ट्रिय पहुँचमा चुनौती।

झापा, ९ साउन । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् ।
प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्लामा व्यावसायिक रुपमा कफीखेती भइरहेको छ । पाँच हजारभन्दा बढी किसानले कफीखेती गरिरहेको उनले बताए ।

हाल कोशीमा ९० देखि १०० मेट्रिक टन कफीको दाना उत्पादन भइरहेको छ । यसको बजार मूल्य लगभग रु २० करोड छ । उत्पादित कफीको आधाभन्दा बढी परिमाण विदेश निर्यात हुने गरेको छ ।

नेपालमा ५०० मेट्रिक टन कफी उत्पादन हुँदै आएकामा कोशी प्रदेशको २० प्रतिशत योगदान रहेको छ । कोशी प्रदेशमा सबैभन्दा बढी कफी उत्पादन इलाममा हुने गरेको छ । इलामका दुई हजार बढी किसानले ९०० हेक्टरमा कफीखेती गर्दै आएका छन् । यहाँबाट ५० मेट्रिक टनको हाराहारीमा कफीको दाना उत्पादन हुने गरेको छ ।

धनकुटा, मोरङ, पाँचथरलगायतका जिल्लामा उल्लेख्य क्षेत्रफलमा कफीखेती विस्तार गरिएको छ । बोर्डको तथ्याङ्कअनुसार धनकुटामा ७५०, मोरङमा ५०० र पाँचथर जिल्लामा ३५० हेक्टरमा विस्तार गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ५० रोपनी जग्गामा कफीखेती गर्न इच्छुक किसान तथा सहकारीलाई रु सात लाख ५० हजार र नर्सरीमा बिरुवा उत्पादन गर्नेलाई रु तीन लाख ५० हजार अनुदान दिँदै आएको छ ।

बोर्डका अनुसार गत आर्थिक वर्ष २०८१र८२ मा कोशी प्रदेशका २४ वटा स्थानीय तहमा ११० हेक्टरमा कफीखेती विस्तार गरिएको र त्यसका लागि बोर्डले रु दुई करोड ३७ लाख बजेट खर्च गरेको छ । त्यसैगरी चालु आवका लागि २३ स्थानीय तहमा खेती विस्तार गर्न बोर्डले रु दुई करोड ८३ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

“कोशी प्रदेश कफीखेतीका लागि उर्बर क्षेत्र हो”, बोर्डका सूचना अधिकारी ढुङ्गानाले भने, “उत्पादित कफी बिक्रीका लागि बजारको समस्या छैन । तथापि प्रशोधन, गुणस्तर, प्याकेजिङ, टे«डमार्कलगायतका विषयमा अनभिज्ञ भएकाले किसानहरुले सिधै अन्तरराष्ट्रिय बजारमा लैजान सक्ने अवस्था छैन ।” रासस

 


Thali Mobile Pvt.Ltd.