भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

क्वाँटी खाने दिन, गुन्ही ला पुन्ही’

क्वाँटी खाने दिन, गुन्ही ला पुन्ही’

काठमाडौं । समाजमा विभिन्न सांस्कृतिक चाडपर्वहरू मान्ने चलन छ । यसै क्रममा जनैपूर्णिमाको दिन जनै लगाउने, विशेष पूजा गरिएको रङ्गीन धागो बाँध्ने र अघिल्लो दिन दर खाने प्रचलन रहिआएको छ । जनैपूर्णिमाको अवसरमा विशेष खानाको रूपमा क्वाँटी खाने प्रचलन छ ।

क्वाँटी खाने प्रचलन विशेषगरी नेवार समुदायबाट सुरु भएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटी र यसको झोल खाने प्रचलन छ । नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको सुप हो । त्यसकारण क्वाँटी भनेको विभिन्न गेडागुडीहरूको मिश्रणबाट पकाएर बनाएको स्वादिलो र तात्तातो सुप हो भन्ने बुझिन्छ ।

क्वाँटी विभिन्न गेडागुडीहरूको मिश्रण हो र यसमा खासगरी नौ किसिमका गेडागुडीहरूको सम्मिश्रण पाइन्छ । खेतबारीमा काम गर्ने समयमा, मौसम परिवर्तन हुने समयमा र जाडो यामको सुरुवात हुने समय आउनै लाग्दा जनैपूर्णिमा पर्व पर्छ र त्यतिबेला विभिन्न गेडागुडीहरूको रस खाने प्रचलन छ । धार्मिक तथा सांस्कृतिक प्रचलनका रूपमा कुनै समुदायबाट आएको प्रचलन अहिले चर्चाको विषय बनेको छ । यसका पछाडि विभिन्न वैज्ञानिक कारणहरू लुकेका छन् जसले शरीरलाई फाइदा पुर्‍याउँछन् ।

यसरी शरीरलाई बलियो बनाउन, कमजोर शारीरिक क्षमता भएको अवस्थामा, रुघाखोकी जस्ता रोगहरू लाग्नबाट बचाउन वा शरीरको रोग विरुद्ध लड्ने क्षमता बढाउन जानेर वा नजानेरै क्वाँटी जस्ता विभिन्न पौष्टिक तत्वहरू खाने प्रचलन चलिआएको हो । सन्तुलित खानाको रूपमा कार्बोहाइड्रेट र चिल्लो पदार्थ तथा भिटामिन पाइने खानाको स्रोत समेत मिलाएर खानुपर्छ ।

हामीले सकभर कार्बोहाइड्रेट कम, प्रोटिन केही बढी मात्रामा र अन्य खाद्यपदार्थ ठिक्क मिलाएर खानु राम्रो हुन्छ । तर खाद्यपदार्थको उत्पादन, आर्थिक अवस्था, पोषण सम्बन्धी चेतना, घरपरिवारको आकार आदिले सन्तुलित खाना प्राप्त गर्न कठिनाइ पर्ने गरेको यथार्थ नेपाली समाजमा देखापर्दछ ।

फलस्वरूप खाना खाँदा भात वा रोटी, आलुको तरकारी र आलुका अन्य परिकार बनाएर खाने चलन छ जसले गर्दा सन्तुलित खाना प्राप्त गर्न सकिंदैन । यस्तो खानाबाट केवल कार्बोहाइड्रेट मात्र प्राप्त हुने र अति आवश्यक तत्व प्रोटिन, भिटामिन र खनिज तत्वको सधैं अभाव हुनेभयो । जसको परिणामस्वरूप हामीलाई विभिन्न पौष्टिक तत्वको कमीबाट लाग्ने रोगहरू देखापर्न थाल्छन्स शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वास्थ्य राम्रो हुन सक्दैन र कुपोषण जस्ता समस्या देखिन सक्छन् ।

यस्ता समस्या अझ बढी बाल्यकाल, किशोरावस्था र वृद्धावस्थामा देखिएमा रोग विरुद्ध लड्ने प्रतिरोध क्षमताको अभावले गर्दा विभिन्न समस्या थपिई व्यक्ति मृत्युको मुखमा पुग्न पनि सक्छ । त्यसकारण सकभर हाम्रै गाउँघरमा खेतबारीमा पाइने पैसा नपर्ने वा कम मूल्य पर्ने खाद्यपदार्थलाई मिलाई सेवन गर्नु अति आवश्यक छ ।

क्वाँटी एक अर्थमा निकै पौष्टिक तत्वले भरिपूर्ण खाद्यपदार्थ भएकाले पनि यसको महत्व बढी देखिएको हो । क्वाँटी बनाउने क्रममा यसबाट बढी फाइदा पाउन विभिन्न गेडागुडीहरूलाई ३ देखि ४ दिनसम्म पानीमा भिजाएर राख्ने जबसम्म यसमा टुसा पलाउँदैन ।

त्यसपछि यसलाई राम्रोसँग प्रेसर कुकरमा पकाउनुपर्छ र बेसार, खुर्सानीको धुलो, नुन, तोरीका दाना, आलसका दाना, टमाटर, प्याज, लसुन र अदुवाको पेस्ट तथा विभिन्न मरमसलाको प्रयोग गरी पुनः पानी थपेर पकाएर स्वादिष्ट बनाई बाक्लो सुपको रूपमा खान सकिन्छ । क्वाँटी नौ किसिमका गेडागुडी एकै ठाउँमा मिलाई पकाएर खाने गरिन्छ ।

त्यसो त जुनसुकै दलहन तथा गेडागुडीहरू दुई वा सोभन्दा बढी भएमा र टुसा उमारेर खाएमा त्यसको पौष्टिक गुणमा थप गुणस्तर आउने र विभिन्न तत्वहरू प्राप्त गर्न सकिने हुन्छ । तर हाम्रो प्रचलनमा क्वाँटी बनाउन तोकिएका गेडागुडीहरू रहेका छन् ।