भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

लद्दाखमा हिंसात्मक प्रदर्शन, कर्फ्यु जारी

लद्दाखमा हिंसात्मक प्रदर्शन, कर्फ्यु जारी

एजेन्सी, ९ असाेज ।  भारतको लद्दाखलाई पूर्ण राज्यको दर्जा दिने र संविधानको छैठौं अनुसूचीमा समावेश गर्ने मागसहित भइरहेको आन्दोलन हिजो हिंसात्मक बनेको छ।

लेहमा हजारौं प्रदर्शनकारीले र्याली निकाल्दा भारतीय जनता पार्टी (बीजेपी) को जिल्ला कार्यालयमा आगजनी गरिएको र प्रहरी तथा सुरक्षा निकायका गाडीमा तोडफोड भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। घटनापछि प्रशासनले लेहमा कर्फ्यु जारी गर्दै भारतीय दण्ड संहिता (बीएनएस) को धारा १६३ लागू गरेको छ।

यस अनुसार पाँच जना भन्दा बढी व्यक्तिको जमघटमा प्रतिबन्ध लगाइएको छ र कुनै पनि र्याली वा जुलुस निकाल्न पूर्व अनुमति अनिवार्य गरिएको छ। पर्यावरणविद् तथा सामाजिक अभियन्ता सोनम वांगचुक, जो १५ दिनदेखि आमरण अनशनमा थिए, हिंसा भएसँगै अनशन तोड्न बाध्य भएका छन्।

उनले भिडियो सन्देशमार्फत् तोडफोडप्रति दुःख व्यक्त गर्दै युवालाई संयमित रहन र शान्तिपूर्ण आन्दोलनको मार्ग अपनाउन आग्रह गरेका छन्। उनले यस आन्दोलनलाई ‘जेन जेडी क्रान्ति’ को नाम दिएका छन्। बीजेपी प्रदेश अध्यक्ष ताशी ग्यालसन खाचूले पार्टी कार्यालयमा आगो लगाइएको पुष्टि गरेका छन्।

यता, सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो। विश्लेषकहरूले चीनसँग सीमा जोडिएको संवेदनशील क्षेत्रमा हिंसा हुनु भारत सरकारका लागि गम्भीर चेतावनी भएको टिप्पणी गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.