भक्तपुर, २८ बैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुन व्यवसायीहरुलाई देश र जनताको हितमा कानुन निर्माणमा सहयोग गर्ने र संसदमा प्रस्तुत विधेयकहरूको नियमित अध्ययन गर्दै जनतालाई सचेत पार्ने काममा निरन्तर लाग्न आग्रह गर्नुभएको छ। उहाँले कानुन अध्ययन समाज नेपालको प्रकाशन ‘न्यायदृष्टि’ को निरन्तरताको कामना गर्दै समाजलाई सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएकाे हाे ।
प्रजापतिले भन्नुभयो, “शासक दलहरु, संसद र सरकारले आफ्नो जिम्मेवारीअनुसार काम नगरेको कारण अहिले देशले दुर्दशा भोग्नु परेको हो।” उहाँले थप्नुभयो “यदि दलहरूले सिद्धान्त त्यागे भने ठूलो पार्टी पनि पतन हुन्छ, जस्तो कि सोभियत संघको पतन भएको थियो। यसर्थ, कानुन व्यवसायीहरुले क्रान्तिकारी विचारमा आबद्ध भएर काम गर्नुपर्ने आवश्यकता छ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभाका सदस्य सुरेन्द्र राज गोसाईले कानुन व्यवसायीहरुले जनताको निम्ति लेख्न र बोल्न नछोड्नुपर्ने बताउनुभयाे । उहाँले भन्नेुभयाे “वकिलहरुले जनताको समस्यामा नबोलेमा त्यो धोका र विश्वासघात हुनेछ। कानुन व्यवसाय केवल पेशा नभई सेवा क्षेत्र हो।”
कार्यक्रममा ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारी र अधिवक्ता शिवराम बोहजुले ‘न्यायदृष्टि’ प्रकाशनको औचित्यबारे प्रकाश पार्नुभएको थियो। कानुन अध्ययन समाज नेपालका अध्यक्ष राम प्रसाद प्रजापतिको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।



