भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

५ महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

५ महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

मुख्य बुँदा 

पाँच महिनामा पूँजीगत खर्च ८ प्रतिशत मात्र

३३ अर्ब ८७ करोड रुपैयाँ पूँजीगत खर्च

कुल बजेट खर्च २८.७४ प्रतिशत

राजस्व सङ्कलन लक्ष्यको २७ प्रतिशत

कर राजस्व २८.८३ प्रतिशत मात्रै

वैदेशिक अनुदान ९.५८ प्रतिशत

बजेट घाटा करिब १.४९ खर्ब रुपैयाँ

काठमाण्डौ, १ पुष । चालू आर्थिक वर्ष २०८२र८३ को शुरुआती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गएको मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गर्न सकेको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार मङ्सिर मसान्तसम्म ३३ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ बराबर मात्रै पूँजीगत खर्च भएको छ । यस वर्षका लागि पूँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबर विनियोजन भएको थियो ।

चालूगततर्फ ११ खर्ब ८० अर्ब ९८ करोडको वार्षिक विनियोजन रहेकोमा अहिलेसम्म ३३ दशमलव ७ प्रतिशत अर्थात् तीन खर्ब ९८ अर्ब चार करोड ७२ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकोमा ३५ दशमलव ३२ प्रतिशत अर्थात् एक खर्ब ३२ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ खर्च भएको छ ।

यसरी चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा सरकारको कुल खर्च वार्षिक विनियोजनको २८ दशमलव ७४ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबर बजेट विनियोजन भएकोमा अहिलेसम्म पाँच खर्ब ६४ अर्ब ४६ करोड १२ लाख रुपैयाँ खर्च भएको हो ।

बजेट खर्च मात्र नभइ राजस्व सङ्कलन पनि कमजोर देखिएको छ । चालू आर्थिक वर्षका लागि १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको सरकारले पाँच महिनामा २७ प्रतिशत अर्थात् चार खर्ब १४ अर्ब ९० करोड रुपैयाँ बराबर मात्रै उठाउन सकेको छ ।

मङ्सिर मसान्तसम्म पाँच खर्ब २० अर्ब ४४ करोड राजस्व उठाइसक्ने सरकारको लक्ष्य थियो । तर लक्ष्यको तुलनामा प्राप्ति ७८ दशमलव ७४ प्रतिशतमा खुम्चिएको छ ।

त्यस्तै मङ्सिर महिनामा मात्र ९५ अर्ब २० करोड कर उठाउने लक्ष्य राखेको सरकारले त्यसको ८४ दशमलव ३१ प्रतिशत अर्थात् ८० अर्ब २७ करोड रुपैयाँ बराबर मात्रै असुली गरेको छ ।

अहिलेसम्म कर राजस्वतर्फ वार्षिक लक्ष्यको २८ दशमलव ८३ प्रतिशत अर्थात् तीन खर्ब ८२ अर्ब २३ करोड र गैरकर राजस्वतर्फ १५ दशमलव ५९ प्रतिशत अर्थात् २४ अर्ब सात करोड रुपैयाँ बराबर सङ्कलन भएको छ ।

यस वर्ष ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले अहिलेसम्म नौ दशमलव ५८ प्रतिशत अर्थात् पाँच अर्ब १२ करोड १० लाख रुपैयाँ बराबर अनुदान लिएको छ ।

अहिलेसम्मको सरकारको आम्दानी र खर्चको हिसाब हेर्दा बजेट घाटा डेढ खर्ब हाराहारी पुगेको छ अर्थात् सरकारले गरेको आम्दानीभन्दा खर्च एक खर्ब ४९ अर्ब ५५ करोड ८५ लाख रुपैयाँले बढी छ । रासस

 


Thali Mobile Pvt.Ltd.