भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

माथिल्लो अरुण आयोजनाका लागि दुई हजारभन्दा बढी रुख कटान

माथिल्लो अरुण आयोजनाका लागि दुई हजारभन्दा बढी रुख कटान

मुख्य बुँदा 

माथिल्लो अरुण आयोजनाका लागि २,१६८ बोट रुख कटान

२१.०८ हेक्टर वन क्षेत्र प्रयोग

आयोजनालाई २५ वर्षसम्म वन प्रयोग अनुमति

२२ किलोमिटर पहुँच सडक र २.०३ किमी सुरुङ निर्माण हुँदै

सडक निर्माण लागत ७ अर्ब ९१ करोड ३९ लाख

जिल्लामा हालसम्म १४ हजारभन्दा बढी रुख कटान

११ जलविद्युत् आयोजनाले ६ स्थानीय तहका वन क्षेत्र प्रयोग

सङ्खुवासभा, १ पुष । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि दुई हजारभन्दा बढी रुख काटिएको छ।

भोटखोला गाउँपालिका–२ र ४ अन्तर्गतका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रका रुख कटान गरिएको हो। डिभिजन वन कार्यालय सङ्खुवासभाका सूचना अधिकारी चन्द्रलाल राईका अनुसार आयोजना तथा पहुँच मार्ग निर्माणका लागि जम्मा दुई हजार १६८ बोट रुख काटिएका छन्।

उनका अनुसार भोटखोला–४ को राष्ट्रिय वन र भोटखोला–२ अन्तर्गत पारीपाखा तथा माक्पालुङ सामुदायिक वन क्षेत्रको करिब २१ दशमलव ०८ हेक्टर क्षेत्रफलमा रुख कटान गरिएको हो। आयोजनालाई २५ वर्षसम्म वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको छ।

यससँगै माथिल्लो अरुण आयोजनाका लागि पहुँच मार्ग निर्माणको काम द्रुत गतिमा अघि बढेको छ। नेपाल विद्युत् प्राधिकरणले करिब २२ किलोमिटर पहुँच सडक र २ दशमलव ०३ किलोमिटर सुरुङमार्ग निर्माणका लागि भारतको गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरी काम सुरु गरेको जनाएको छ।

पहुँच मार्ग अन्तर्गत अरुण नदी र चेपुवा खोलामा पक्की पुलसमेत निर्माण गरिनेछ। सडक भोटखोला गाउँपालिका–४ को छोराङदेखि भोटखोला–२ को रुकुमा फेदीसम्म निर्माण गरिनेछ। उक्त सडक निर्माणको लागत सात अर्ब ९१ करोड ३९ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच जिल्लामा विभिन्न जलविद्युत् आयोजना निर्माणका क्रममा हालसम्म १४ हजारभन्दा बढी रुख काटिसकिएको छ। डिभिजन वन कार्यालयका अनुसार अरुण तेस्रो जलविद्युत् आयोजना र कोसी करिडोर प्रसारण लाइनका लागि १८ सामुदायिक वन क्षेत्रका १४ हजार ६२७ रुख कटान गरिएको हो।

वन कार्यालयका अनुसार जिल्लाका ६ स्थानीय तहमा सञ्चालनमा रहेका ११ वटा जलविद्युत् आयोजनाले वन क्षेत्र प्रयोग गरेका छन्। विद्युत् प्रसारण लाइन विस्तारका लागि मात्र सरकारी वन क्षेत्रका पाँच हजार ४०० रुख काटिएका छन्।

 


Thali Mobile Pvt.Ltd.