भर्खरै : Sorry, your browser does not support inline SVG.

मधेसमा माली समुदायको पुर्ख्यौली पेसा सङ्कटमा, बिचौलिया र खुला सिमानाको मार

मधेसमा माली समुदायको पुर्ख्यौली पेसा सङ्कटमा, बिचौलिया र खुला सिमानाको मार

धनुषा, २८ बैशाख । मधेस प्रदेशमा माली समुदायले पुस्तौँदेखि अँगाल्दै आएको पुर्ख्यौली पेसा फूलखेती गम्भीर सङ्कटमा परेको छ । बिचौलियाको दबाब, भारतीय सस्तो फूलको आयात र सरकारी बेवास्ताका कारण स्थानीय किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२०, रुपैठाका ७८ वर्षीय पुनित भण्डारी छ पिँढीदेखि चल्दै आएको फूलखेतीलाई आजसम्म निरन्तरता दिइरहेका छन् । उमेरले वृद्ध भए पनि बिहान सबेरै खेतमा पुग्ने र बेलुकासम्म फूलखेतीमै व्यस्त रहने उनको दिनचर्या अझै उस्तै छ ।

उनका पाँच छोरामध्ये कान्छा छोरा लक्ष्मी भण्डारीले बुबाको पुर्ख्यौली पेसालाई निरन्तरता दिइरहेका छन् । लक्ष्मीले डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गर्दै आएका छन् र यही आम्दानीबाट तीन सन्तानको जिम्मेवारी पूरा गरिरहेका छन् ।

लक्ष्मी भन्छन्, ‘फूलखेती हाम्रो परिवारको मात्र होइन, समग्र माली समुदायको पहिचान हो । तर, अहिले पसिनाको मूल्य पाउन मुस्किल भएको छ ।’

एक सिजनमा डेढ बिघामा फूलखेती गर्न करिब साढे दुई लाख रुपैयाँ खर्च हुने भए पनि बजार राम्रो नहुँदा नाफा डेढदेखि दुई लाख रुपैयाँसम्म सीमित हुने उनी बताउँछन् । किसानले व्यापारीलाई एउटा माला २० देखि २५ रुपैयाँमा बेच्नुपर्दा बजारमा त्यही माला ५० देखि ८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

जनकपुरधाममा दैनिक करिब १२ हजार फूलका माला बिक्री हुने अनुमान छ । तर, भारतबाट सस्तो मूल्यमा भित्रिने फूल र माला कारण स्थानीय किसानले प्रतिस्पर्धा गर्न नसकेको गुनासो छ । खुला सिमाना र कमजोर भन्सार व्यवस्थाका कारण चोरी–निकासीमार्फत भारतीय फूल बजारमा सहजै पुग्ने गरेको किसानहरू बताउँछन् ।

रुपैठा क्षेत्रमा मात्रै माली समुदायले २५ देखि ३० बिघा क्षेत्रफलमा फूलखेती गर्दै आएका छन् । यहाँका किसानले हजारी, कलकतिया, चाइना, चेरी र सेतो जातका फूल उत्पादन गर्छन् । तर, मल, सिँचाइ, मजदुर र सुरक्षा समस्याले खेती झन् चुनौतीपूर्ण बन्दै गएको छ ।

किसानहरूका अनुसार सरकारले फूलखेतीलाई प्राथमिकतामा नराख्दा न अनुदान पाइएको छ, न तालिम नै । आधुनिक प्रविधि, बजारीकरण र सीमामा कडाइ हुने हो भने फूलखेतीबाट राम्रो आम्दानी सम्भव हुने उनीहरूको विश्वास छ ।

फूलखेती मधेसको संस्कृति, परम्परा र धार्मिक अभ्याससँग गहिरो रूपमा जोडिएको पेसा हो । तर, अस्वस्थ प्रतिस्पर्धा, बढ्दो लागत र सरकारी बेवास्ताका कारण यो पुर्ख्यौली पेसा अहिले दोबाटोमा उभिएको छ । समयमै संरक्षण र सहयोग नपाए माली समुदायको पहिचान बोकेको फूलखेती इतिहासमा सीमित हुने खतरा बढ्दै गएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.