DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अख्तियारले सफाइ दिएका उत्तरपुस्तिकामै त्रुटि


  • मंसिर २१, २०७८
  • 407 Views
अख्तियारले सफाइ दिएका उत्तरपुस्तिकामै त्रुटि image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिएको त्रिभुवन विश्वविद्यालय सेवा आयोगको उत्तरपुस्तिकामै त्रुटि भेटिएको छ । स्थायी पदपूर्तिका लागि लिइएको परीक्षाको उत्तरपुस्तिकामै अनियमितता गरेको भेटिएपछि अख्तियारले नै पुनः छानबिन थालेको छ । त्रिवि सेवा आयोगले विज्ञापन नम्बर १८र२०७३र२०७४ मा १६ पदमा खुला विज्ञापन गरेको थियो । २०७५ मा परीक्षा लिएर २०७६ वैशाखमा नतिजा सार्वजनिक गरिएको थियो ।

नतिजा प्रकाशनका क्रममा ‘सेटिङमा उत्तरपुस्तिका परीक्षण’ गरिएको र ‘आफन्तलाई पास गराउन बढाएर नम्बर दिएको’ भेटिएको थियो । अख्तियारले १६ वटै पदका परीक्षाको उत्तरपुस्तिका छानबिन गरेर ६ वटा पदमा मात्रै अनियमितता गरेको निष्कर्ष निकाल्दै विशेष अदालतमा आयोगका पदाधिकारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । उक्त मुद्दा विचाराधीन हुँदै अख्तियारले ९ वटा पदको उत्तरपुस्तिकालाई सफाइ दिएको थियो । तर सेवा आयोगले नतिजा प्रकाशन गर्ने क्रममा अख्तियारले सफाइ दिएकै उत्तरपुस्तिकामा जथाभावी अंक दिइएको भेटिएको हो ।

अख्तियारका तत्कालीन अनुसन्धान अधिकृत रामप्रसाद सुवेदीले ‘उत्तरपुस्तिकाको परीक्षणमा अनियमितता देखिन नआएको’ भन्दै सफाइ दिएका थिए । उपसचिव सुवेदी हाल काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख छन् । त्रिवि सेवा आयोग स्रोतका अनुसार पास नहुने विद्यार्थीलाई स्थायी जागिर खुवाउन एक सय पूर्णाङ्कमा ८० भन्दा बढी नम्बर दिइएको छ ।

‘कुनै उत्तरपुस्तिकामा नम्बर नै दिइएको छैन, तर बाहिर कभरमा १० पूर्णाङ्कमा ८ नम्बर छ । कुनै उत्तरपुस्तिकामा १० पूर्णाङ्कको प्रश्नको कम्तीमा १ पेज उत्तर लेख्नुपर्नेमा एक वाक्यमा मात्र लेखिएको छ, त्यसलाई शून्य दशमलव ५ अंक दिइएको छ तर बाहिर कभरमा त्यही प्रश्नको उत्तरबापत ८ नम्बर दिएको भेटिन्छ,’ उत्तरपुस्तिका रुजुमा संलग्न एक कर्मचारीले भने ।

उत्तरपुस्तिका परीक्षक र विषय विज्ञले मनोमानी रूपमा अंक दिएर आफ्नालाई पास गराउन उत्तरपुस्तिका परीक्षणको न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको आयोग स्रोतले जनायो । नम्बर दिँदा कुनै उत्तरपुस्तिकामा नम्बर थप्न र कुनैमा घटाउन पटकरपटक केरमेट गरिएकोसमेत भेटिएको छ । ‘उत्तरपुस्तिकामा गरिएको त्यो हदको बदमासी अख्तियारसँगको सेटिङबिना सदर हुनै सक्दैन,’ उत्तरपुस्तिका रुजुमा पछिल्लोपटक संलग्न एक पदाधिकारीले भने ।

पछिल्लोपटक उपप्रशासक, आर्थिक उपनियन्त्रक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृतरइन्जिनियरिङरकम्प्युटर, मुख्य प्राविधिक सहायक, लेखा सहायक, पुस्तकालय सहायक, प्राविधिक सहायक, ड्राइभरलगायत पदको परीक्षामा मनोमानी गरेको पाइएको हो । यी सबै पदका ५ सय ७६ वटा उत्तरपुस्तिका अख्तियारले पुनः नियन्त्रणमा लिएको हो ।

‘अख्तियारकै निर्देशनमा १० वटा पदको नतिजा प्रकाशन गर्ने तरखरमा थियौं,’ सेवा आयोगका प्रमुख केदारनाथ ढकालले भने, ‘पुनः अख्तियारले कापी झिकाएको छ, अरू कुरा त छानबिनपछि नै थाहा होला ।’ अख्तियारले नै छानबिन गरेर त्रुटि छैन भनेका उत्तरपुस्तिका पुनः छानबिनका लागि मगाइएको उनको भनाइ छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले त्रिवि सेवाको उत्तरपुस्तिका नियन्त्रणमा लिएर अनुसन्धान थालेको पुष्टि गरे ।

भएको के थियो ?

शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य लेखा कार्यालय सहायक र कार्यालय सहायकसहित १६ पदका लागि त्रिवि सेवा आयोगले २०७३ चैत २९ मा खुला विज्ञापन आह्वान गरेको थियो । २०७५ मा परीक्षा लिएर २०७६ वैशाखमा नतिजा प्रकाशन गरियो । लिखित परीक्षामा त्रिविका तत्कालीन पदाधिकारी, विद्यार्थी संघरसंगठन र राजनीतिक पार्टीका नेताहरूका नातेदारमात्रै सफल गराइएको भनेर अख्तियारमा उजुरी परेको थियो ।

उजुरीका आधारमा अख्तियारले उत्तरपुस्तिकालगायत परीक्षाका कागजात नियन्त्रणमा लिएर २०७६ जेठ १२ मा अन्तर्वार्तालगायत परीक्षाको अन्तिम नतिजा प्रकाशन नगर्न निर्देशन दिएको थियो । छानबिनपछि असार १८ मा अख्तियारले ‘परीक्षाको परिणाम फेरबदल गर्ने, गराउने काम गरी भ्रष्टाचार गरेको’ आरोपमा आयोगका तत्कालीन अध्यक्ष चैतन्यप्रसाद शर्मालगायत १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गर्‍यो ।

सेवा आयोगका तत्कालीन सदस्य चिन्तामणि पोखरेल, प्रमुख परशुराम कोइराला, कर्मचारीहरू बच्चु पाण्डे, इन्दिरा तिवारी भन्तना, प्राध्यापक टेकनाथ ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने र ताराप्रकाश पौडेलविरुद्ध मुद्दा दर्ता गरिएको थियो । त्यतिबेला अख्तियारले १६ मध्ये ६ पदमा मात्रै अनियमितता भएको जनाएको थियो । ‘अन्य पदहरूको लिखित परीक्षाको उत्तरपुस्तिकाहरूको परीक्षणमा अनियमितता भएको देखिन नआएको हुँदा यस सम्बन्धमा जो जे गर्नुपर्ने हो त्यहींबाट नियमअनुसार गर्न सम्बन्धित उत्तरपुस्तिका त्रिवि सेवा आयोगमा फिर्ता पठाइएको व्यहोरा अनुरोध छ,’ अख्तियारले २०७६ असार २० मा सेवा आयोगलाई लेखेको पत्रमा भनिएको छ ।

अख्तियारले ९ पदका उत्तरपुस्तिका सफाइसहित फिर्ता गरेपछि नतिजा प्रकाशन गर्न सेवा आयोगलाई परीक्षार्थीले दबाब दिन थालेका थिए । ड्राइभर पदको भने उत्तरपुस्तिका थिएन । अनियमिततामा संलग्न पदाधिकारी निलम्बित भएपछि सेवा आयोग अध्यक्षमा लालुप्रसाद पौडेल, सदस्यमा हेमराज ढकाल र कार्यालय प्रमुखमा केदारनाथ ढकाल नियुक्त भए । उनीहरू ती ६ पदसँग सम्बन्धित मुद्दाको टुंगो विशेष अदालतबाट नलाग्दासम्म बाँकी १० पदको पनि अन्तिम नतिजा प्रकाशन नगर्ने मनस्थितिमा थिए । तर केही परीक्षार्थी पाटन उच्च अदालत गए ।

भदौ ९ मा उच्च अदालतले अख्तियारले सफाइ दिएका पदको अविलम्ब नतिजा प्रकाशन गर्न परमादेश जारी भयो । अदालतको आदेशअनुसार नतिजा प्रकाशनको तयारी गरिरहेका बेला अख्तियारले पुनः उत्तरपुस्तिका नियन्त्रणमा लिएको अध्यक्ष पौडेलले जनाए । पुनः उजुरी परेपछि ती उत्तरपुस्तिका मगाइएको अख्तियार स्रोतले जनाएको छ ।
कान्तिपुर दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.