वीरगन्ज । लागूऔषध र मादक पदार्थ सेवनका कारण समाजमा आपराधिक घटना बढ्न बल पुगेको पाइएको छ । छिमेकी मुलुक भारतको बिहार सरकारले यो कुराको पहिले नै निष्कर्ष निकाली त्यहाँ लागूऔषध र मादक पदार्थ सेवन र बिक्रीवितरणमा रोक लगाइसकेको छ । सीमावारी नेपालमा भने लागूऔषध प्रयोगमा केही कडाइ गरिएको जस्तो गरी मादक पदार्थ सेवनमा भने खुलम–खुला छोडिएको छ । यसले समाजमा हुने अपराधका घटनालाई बल पु¥याइरहेको पाइएको हो ।
केही दिनअगाडि काठमाडांैको तिनकुने नजिक एकै परिवारका ३ सदस्यको हत्या प्रकरण वा यही असोज १९ गते वीरगन्जको छपकैयास्थित पुनम देवीको हत्या प्रकरण, दुवै घटनामा लागूऔषध प्रयोगकर्ताको संलग्नता देखिएको छ । पर्साको वीरगन्ज महानगरपालिका–१ छपकैयाकी पुनम देवीको हत्या पनि मादक पदार्थ मात्र नभई लागूऔषध सेवनकर्ता समेत रहेका स्थानीय २५ वर्षीय इमरान मियाँले गरेको पर्सा प्रहरीको अनुसन्धानबाट पुष्टि भएको हो ।
जितिया पर्व मनाउने क्रममा गत बिहीबार बिहान सधैंभन्दा चाँडो उठेकी पुनम देवीको घरमा चोरी गर्ने उद्देश्यले छिरेका लागूऔषध प्रयोगकर्ता मियाँसँग घरभित्रै जम्काभेट हुँदा उनले बोकेको रड पुनमको टाउकोमा प्रहार गरी हत्या गरेको पर्साका प्रहरी उपरीक्षक कोमलबिक्रम शाहले बताए । जितिया पर्व एकसाथ मनाउन भनी बहिनीको घरमा बोलाउन पुगेकी पुनमकी दिदी निलमदेवी साहले त्यहाँ पुगी बहिनीलाई बोलाउँदा पुनम नबोलेपछि भित्र जान खोज्दा बाहिरबाट ढोका बन्द गरेको देखी खोलेर हेर्दा बहिनी आफ्नै अच्छ्यानमा गम्भीर अवस्थामा ढलेको फेला पारेकी थिइन् ।
लगत्तै आफन्त र सहयोगीसहित अस्पताल लाने काम भए पनि बिहान ७ बजेर ४५ मिनेटमा अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा भेटिएकी पुनमलाई सुरुमा वीरगन्जको नारायणी अस्पताल र पछि वीरगन्जकै नेसनल मेडिकल कलेज शिक्षण अस्पताल पु¥याउँदा चिकित्सकले बचाउन नसकेको र यो घटनाको अनुसन्धान बढाउँदा स्थानीय लागूऔषध प्रयोगकर्ता मियाँको संलग्नता भेटिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शाहले बताए । यो घटना बिहान करिब साढे ३ बजेतिर भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ उनले भने ।
भारत बिहार जिल्ला सितामढी नरहाग्राम घर भई हाल वीरगन्ज–१ बस्दै आएकी पुनमको शव उनका श्रीमान गगनदेव प्रसादलाई पोस्टमार्टम गरी दाह संस्कारका लागि जिम्मा लगाइएको पर्सा प्रहरीले जनाएको छ । घरमा झगडा गरी अभियुक्त मियाँ सुरुमा वीरगन्ज–१ स्थित वडा कार्यलयमा सुत्छु भन्दै चोरी गर्ने उद्देश्यले त्यहाँ पुग्दा भित्र प्रवेश गर्ने ढोका खोल्न नसकी पूर्व पुनमको घरतर्फ लागेको सीसी टिभी क्यामेराबाट खुलेको छ । पछि उनी पुनमको घरको झ्यालबाट माथि छतमा प्रवेश गरेका र छतबाट भित्र प्रवेश गर्ने ढोका बन्द नहुँदा सहजै माथिबाट भित्र छिरी कर्तुत गरेको अभियुक्तले पनि बयानमा स्वीकार गरिसकेको पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।
छतसम्म खाली हात गएका मियाँले पुनमकै छतमा एक हात लामो रड भेटिपछि त्यही रड लिएर माथिबाट भित्र प्रवेश गर्दा ब्युटिसियन पुनम उठिसकेकीले भित्र जम्काभेट हुनासाथ उनको टाउकोमा रड प्रहार गरेको पनि अभियुक्तले स्वीकार गरेको प्रहरी उपरीक्षक शाहले पर्सेली सञ्चारकर्मीसामु बताए । रडले टाउकोमा लागि ढलेपछि उनैले बेडमा लगी राखेको र पछि बत्ती बालेर हेर्दा फेरि आँखा खोलेको देखेपछि चिन्ने डरले पटक–पटक सो रडले टाउकोमा प्रहार गरी भित्रबाट बाहिर निस्केर ढोका बन्द गरी हिडेको अभियुक्तले प्रारम्भिक बयानमा स्विकारेको पर्सा प्रहरीले विस्तृतरूपमा जनाएको छ ।
अभियुक्तले घटना घटाएका समयमा लगाएका लुगा खोलामा फाली रड पनि पुनमको घर पूर्वतर्फ धान खेतमा फालेको अवस्थामा उसैले दिएको बयानपश्चात खोज्दै जाँदा बरामद भएको पर्साका प्रहरी उपरीक्षक शाहले बताए । कुनै रिसिबी या मार्ने योजनाबिना अपराधमा संलग्न व्यक्ति मादक पदार्थ तथा लागूऔषध सेवन गरी अर्कोपटकको जोहो गर्न चोरी गर्न हिड्दा आपराधिक घटना भएको अनुसन्धानबाट खुलेको प्रहरीको निष्कर्ष छ ।
काठमाडांैको तिनकुने नजिक भएको घटनाका अभियुक्त पनि लागूऔषध प्रयोगकर्ता रहनुले समाजमा लागूऔषध र मादक पदार्थ सेवनकर्ताबाट जोसमा होस् गुमाउँदा समाजमा अपराधका घटना बढ्न बल मिलेको तथ्य भेटिएको छ । यता पर्सामा एक महिनाको अन्तरमा तीनवटा हत्याका घटना भएकामा एउटाचाहिं लागूऔषध सेवनपश्चात अपराधसँग जोडिएको खुलेको पर्सा प्रहरी उपरीक्षक शाहले पनि घटनाको वास्तविकता केलाउँदै बताए । पर्सा प्रहरीले दुई घटनाका अभियुक्तहरूलाई नियन्त्रणमा लिन सफल भएको छ ।
गएको असोज १४ गते पनि पर्साको जगरनाथपुर गाउँपालिका–५ की कान्तिदेवी विनको हत्यामा सम्लग्न उनकै जेठाजु र देवर गरी तीन जना प्रहरीको फन्दामा परिसकेका छन् । त्यहाँ पनि चोरी गर्ने उद्देश्यले आफन्तहरू नै त्यहाँ प्रवेश गर्दा कान्तिदेवीले थाहा पाएपछि अभियुक्तले घटना लुकाउन उनको हत्या गरेको रहस्य सतहमा आएको हो । राजधानी दैनिकबाट…