भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अपराध संसारका जीवित किस्सा शोभराजस्‘बाँकी जीवन न्यायिक लडाइँमा बिताउँछु’


  • पुष ९, २०७९
  • 178 Views
अपराध संसारका जीवित किस्सा शोभराजस्‘बाँकी जीवन न्यायिक लडाइँमा बिताउँछु’ image

काठमाडौँ । बिकिनी किलर’का नामले विश्वभर चर्चित चार्ल्स शोभराजले आफ्नो बाँकी जीवन न्यायिक लडाइँमा बिताउने घोषणा गरेका छन्। सर्वोच्च अदालतको आदेशपछि शुक्रबार जेलमुक्त भई स्वदेश ९फ्रान्स० फर्किने क्रममा शोभराजले आफूलाई कानुनी सहायता गरेका वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटी ‘चिन्तन’सँग यस्तो बताएका हुन्। शिवाकोटीका अनुसार शोभराजले आफूविरुद्ध विश्वका विभिन्न देशका सञ्चारमाध्यमले झुटो र अफवाहपूर्ण समाचार प्रकाशन गरेर अतिरञ्जना गरेको टिप्पणी गरेका छन्।

‘अदालतको फैसलापछि म उनीसँग चार–पाँच घन्टाजति बसेको छु। यसबीच तमाम कुराकानी भयोे,’ नागरिकसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता शिवाकोटीले भने, ‘उनले बिबिसी, सिएनएन, नेटफ्लिक्सलगायत सञ्चार माध्यमले पैसा कमाउने उद्देश्यले आफूविरुद्ध अतिरञ्जित हुनेगरी सामग्री प्रकाशनरप्रसारण गरेकोमा चित्त दुखाएका रहेछन्। ती संस्थाविरुद्ध बाँकी जीवन न्यायिक लडाइँ लड्छु भनेका छन्।’ शोभराजले त्यसका लागि उत्कृष्ट कानुन व्यवसायीको समूह चाहिने बताएको शिवाकोटी बताउँछन्।

उनी भन्छन्, ‘मैले गरेको कानुनी सहायताले खुसी भएको बताउँदै उनले त्यसमा मलाई पनि राखेर काम गर्ने भनेका छन्।’ शिवाकोटीका अनुसार शोभराजलाई नेपालको कारागारबाट यति सजिलै छुट्नेमा विश्वासै थिएन। ‘शोभराजले जेलबाट छुट्दा सरप्राइज महसुस गरेको मैले पाएँ। त्यसका लागि सबै कानुन व्यवसायी, अदालत सबैलाई धन्यवाद भनेका छन्,’ शिवाकोटी भन्छन्, ‘नेपाली सञ्चारमाध्यमले पनि आफूबारे नराम्रो नलेखेको भन्दै उनले खुसी व्यक्त गरेका छन्।’

शिवाकोटी जेल पर्दा जुरेको संयोग

वरिष्ठ अधिवक्ता शिवाकोटी र शोभराजको पहिलो भेट ‘कैदी’का रूपमा केन्द्रीय कारागार सुन्धारामा भएको थियो। शिवाकोटी ठगी मुद्दामा परेर २०७५ चैतमा पुर्पक्षका लागि केन्द्रीय कारागार पठाइएका थिए। त्यहीँ शोभराज २०६० सालदेखि कैद थिए।शिवाकोटी जेल पर्दा शोभराजको मुद्दा लड्ने कुरा त परै जाओस् भेट हुन्छ भन्ने पनि सोचेका थिएनन्। तर त्यो सम्भव भयो। त्यो पनि कारागारकै चौकीदारमार्फत ।

‘कारागार प्रशासनका केही कर्मचारीसँग शोभराजको कुराकानी हुने रहेछ। प्रशासनका कर्मचारीले कारागारमा एकजना राम्रो वकिल पनि परेको भनी बताएछन्,’ शिवाकोटीले भने, ‘त्यसैबेला कोभिड १९ को महामारी पनि फैलियो। मैले कारागारको अवस्था देखेर कैदी बन्दीलाई रिहा वा सजाय कम गर्न माग गर्दै सर्वोच्चमा रिट दिएँ। जसको सकारात्मक आदेश आएपछि शोभराज कन्भिन्स्ड भएका रहेछन्।’ त्यसपछि चौकीदारमार्फत शोभराजले आफूसँग सम्पर्क गर्न चाहेको उनले बताए।

‘सुरुमा त्यस्तो डरलाग्दो मान्छेसँग कसरी भेट्ने भन्ने लाग्यो। फेरि कानुन व्यवसायी नै भएकाले भेट्नुपर्ने लाग्यो। भेट पनि भयो,’ शिवाकोटीले भने, ‘मेरा बारेमा पहिल्यै पढिसकेको भनेर तारिफ गरे, कानुनी सहायता माग्न थालेपछि सुरुमा कागजात तयार पारिदिने तर खुलेर मुद्दा नलड्ने भनेको थिएँ।’ पछि कागजात अध्ययन गर्दै जाँदा नेपालको कानुनअनुसार छाड्न मिल्ने र जेलभित्र देखिएको आचरण र व्यवहारले पनि सरल देखेपछि खुलेरै उनका पक्षमा लागेको शिवाकोटी बताउँछन्।

‘नेपाली कानुन र स्वास्थ्य अवस्थाअनुसार २०७४र७५ मै छुट्नुपर्ने रहेछ। तर राम्रो वकिल नपाएकाले बढी सजाय भोग्न बाध्य देखें। त्यसमा झन् सरकारले एक मिनेट पनि अगाडि छाड्न नचाहेको देखियो। जुन कुरा जस्तोसुकै अपराधी भए पनि मानवोचित थिएन। त्यसैले आफैं खुलेर लागें,’ उनले भने, ‘त्यसपछि २०७५ असार २० गते पाटन उच्च अदालतमा शोभराजका तर्फबाट जेल सजायमा छुट गरी रिहाइको माग गर्दै रिट निवेदन दिएँ।’

जहाँबाट २०७५ फागुन १२ गते फैसला भई शोभराजले ७५ प्रतिशत सजाय भुक्तान गरिसकेकाले मानवोचित र विवेकपूर्ण निर्णय गर्न आवश्यक रहेकाले तीन महिनाभित्र आवश्यक निर्णय लिन आदेश भयो। उनका अनुसार त्यस आदेशका सन्दर्भमा सरकारले खासै चासो देखाएन। त्यसपछि उच्च अदालतको आदेश पालन नभएपछि शिवाकोटी २०७८ पुस २ गते बन्दी प्रत्यक्षीकरणको पहिलो रिट लिएर सर्वोच्च पुगे।

सर्वोच्चबाट सोही दिन उमेर, भोगिसकेको कैद र अब भुक्तान हुने कैदको अवधि, निजलाई मुटुको रोग लागेर सर्जरी गर्नुपर्ने अवस्था र चालचलन हेरी एक महिनाभित्र निर्णय लिनू भनेर गृह मन्त्रालयका नाममा परमादेश जारी भएको थियो। त्यसअनुसार पनि सरकारले निर्णय नलिएपछि शिवाकोटीले फेरि सर्वोच्चमा अर्को बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। बुधबार सर्वोच्चले सोही रिटको अन्तिम फैसला गर्दै शोभराजलाई कैदमुक्त गरेर १५ दिनभित्र उनकै देश ९फ्रान्स० पठाउन सरकारका नाममा आदेश दिएको थियो।

यसरी कैदीका रूपमा केन्द्रीय कारागारमा शोभराज र शिवाकोटीबीचको भेट नै शोभराज कैदमुक्त भएर स्वदेश फर्कने बाटो खुलेको छ। शिवाकोटीले निर्णायक भूमिका खेले पनि मुद्दाको बहसमा शोभराजलाई पहिल्यैदेखि कानुनी सहायता दिँदै आएका वरिष्ठ अधिवक्ताहरू लोकभक्त राणा र रामबन्धु शर्माका साथै शोभराजकी ‘सासू’ शकुन्तला थापा र ‘पत्नी’का रूपमा परिचित निहिता विश्वास पनि सहभागी थिए।

फास्ट ट्र्याकबाट डिपोर्ट

सरकारले अदालतको फैसलाको कार्यान्वयन शुक्रबार एकै दिन फटाफट गरेको छ। केन्द्रीय कारागारले सम्पूर्ण प्रक्रिया पूरा गरेर शुक्रबार दिउँसो अध्यागमन विभागलाई बुझाएको थियो। त्यसपछि अध्यागमनले फटाफट आफूसँग बाँकी रहेको ५० हजार रूपैयाँ जरिवाना असुल गरेर डिपोर्ट ९निर्वासन० को प्रक्रिया पूरा गर्दै साँझ फ्रान्स नै पठाइदिएको छ।

‘हामीले शोभराजको भिसामा रहेको अनियमितताको ५० हजार रूपैयाँ जरिवाना असुल गर्‍यौं। त्यसपछि फ्रान्सेली दूतावाससँग कन्ट्याक्ट गरेर टिकेटिङ प्रक्रिया पूरा गर्‍यौं। गृह मन्त्रालयबाट पनि फटाफट स्वीकृत भयो,’ विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले नागरिकसँग भनिन्, ‘यसरी अध्यागमन ऐनअनुसार १० वर्षसम्म नेपाल आउन नपाउने गरी शुक्रबारै डिपोर्ट गरेका छौं।’

शोभराज शुक्रबार साँझ ६ बजेको कतार एयरवेज विमानबाट पेरिसका लागि उडेका छन्। उनी शनिबार बिहान करिब ६ बजे पेरिस पुग्नेछन्। ‘शोभराज शुक्रबारै स्वदेश फर्कन चाहन्थे। कारागार प्रशासन र अध्यागमन विभागले पनि शीघ्रताका साथ काम गर्‍यो। मैले न्यानो लुगा, जुत्ताको व्यवस्था गरिदिएँ। खल्तीमा ६ सय डलर पनि हालिदिएँ,’ वरिष्ठ अधिवक्ता शिवाकोटीले भने, ‘त्यसपछि एयरपोर्टसम्म पुगेर बिदाइ गर्‍यौं। खुसी हुँदै गए।’ नागरिक दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.