भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

आधारभूत तहबाटै विद्यार्थीलाई सीप


  • २०८० श्रावण ८, सोमबार
  • 272 Views
आधारभूत तहबाटै विद्यार्थीलाई सीप image

रोल्पा । प्रायः विद्यालयमा पढाइबाहेक अतिरिक्त क्रियाकलापमा के–के सिकाइन्छ रु हाजिरीजवाफ, वक्तृत्वकला, निबन्ध लेखन, यस्तै यस्तै । यहाँस्थित एक विद्यालयले छात्रछात्रालाई घरेलु उपयोगका सामग्री बुन्न सिकाइरहेको छ । नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्ने उद्देश्यले रोल्पा नगरपालिका–६ धाबाङस्थित आधारभूत विद्यालयले विद्यार्थीलाई डोको, कुचो, नाम्लो र दाम्लो, मान्द्रो, सुइटर बुन्न र गाउने सीप सिकाउने गरेको हो ।

घरेलु उपयोगका सामग्री बुन्ने सीप गाउँबाटै हराउन थालेपछि हरेक शुक्रबार एक घण्टीमात्रै पढाएर इच्छुक विद्यार्थीलाई सीप सिकाउन थालिएको प्रधानाध्यापक विशाल केसीले बताए । ‘सिपालु अभिभावक बोलाएर सिकाउने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘अघिल्लो पुस्ताले जानेको सीप पछिल्लो पुस्तालाई सिकाउने उदेश्य हो ।’

छात्रालाई सुइटर, मोजा, पन्जा, ब्यागलगायत सामग्री बुन्ने सीप सिकाउने गरिएको छ । परम्परागत सामान बनाउने सीप सिक्न विद्यार्थीले चासो दिने गरेका छन् । सीपको वृद्धि गर्न विद्यार्थीले आफैं सामग्री उत्पादन गर्नुपर्ने र शिक्षकको सहयोगमा समुदायमाझ लगेर बिक्री पनि गर्नुपर्नेछ । त्यसबाट एकातिर सीपको हस्तान्तरण हुनेछ भने अर्कातिर विद्यार्थीले मिहिनेतअनुसार आर्थिक उपार्जन गर्नेछन् ।

डोको बुनाइमा कक्षा ६ देखि ८ सम्मका २१ छात्र छन् । सुइटर बुनाइमा कक्षा ६ देखि ८ सम्मका ३० छात्रा छन् । गायन सिक्नेमा २० छात्रछात्रा छन् । डोको बुन्न सिकाउन अभिभावक हिमलाल वली र खड्कबहादुर खत्री खटिएका छन् । सुइटर बुन्न सिकाउनेमा शिक्षिका जुनकुमारी विक र अनिता पुन छन् । बालबालिकालाई स्थानीय कलाकार शेरबहादुर घर्तीमगरले साप्ताहिक रूपमा संगीत शिक्षा र गायन सिकाउने गरेका छन् ।

‘घरमा हजुरबा र बाले डोको बुनेको देखेको थिएँ, अहिले म आफैंले सिक्न पाएँ,’ कक्षा ८ का खड्कसिंह वलीले भने, ‘विद्यालयमै सीप सिकाउने व्यवस्था मिलेकाले खुसी लागेको छ ।’ कक्षा ८ की छात्रा हिमकुमारी वलीले विद्यार्थीलाई पढाइका अतिरिक्त अन्य सीप विद्यालयमै सिकाउने गरिएकामा खुसी लागेको बताइन् । सुइटर, पन्जा, ब्याग बुन्नका लागि ऊन, धागोजस्ता कच्चा पदार्थ जुटाउन वडा कार्यालयले सहयोग गरेको छ । यसैगरी बाँस, निगालो जस्ता स्थानीय वस्तु अभिभावकले उपलब्ध गराउने गरेका छन् ।

विद्यालयमा मासिक रूपमा भित्ते पत्रिका पनि प्रकाशित हुँदै आएको छ । विद्यार्थीले आफ्ना रचना र सिर्जना समेटेर सृष्टि बालभित्ते पत्रिका प्रकाशित गर्दै आएका छन् । बालभित्ते पत्रिकाका प्रधानसम्पादक रहेका छात्र खड्कसिंह वली भन्छन्, ‘गुरुहरूकै सहयोगमा हामीले पत्रिका प्रकाशित गर्न सक्यौं । यसबाट हाम्रा सिर्जना प्रस्फुटित हुने अवसर मिलेको छ ।’

पत्रिकामा सम्पादकीयसहित बालबालिकाले तयार पारेका समाचार, कथा, कविता, सामान्य ज्ञान, कार्टुन, निबन्धरप्रबन्ध र सूचना छापिन्छन् । प्रधानाध्यापक केसीले विद्यालयमा नियुक्ति लिएर आएका नयाँ शिक्षक कृष्ण घर्तीमगरको संयोजनमा विभिन्न सिर्जनात्मक गतिविधि थालिएको बताए । शिक्षक घर्तीमगरले विद्यार्थीमा सिर्जनात्मकता ल्याउने उद्देश्यले डोको बुन्ने, भित्ते पत्रिका छाप्ने र संगीत शिक्षा सिकाउने अभियान थालिएको सुनाए ।

‘विद्यार्थीले सबै सीप सिक्न सकून् भनेर विद्यालयमै विभिन्न सीप सिकाउने गरिएको हो,’ उनले भने, ‘यो कार्यमा विद्यालय प्रशासन र अभिभावकको सहयोग छ ।’ घर्तीमगरले शिक्षक हुनुअघि गैरसरकारी संस्थामार्फत शिक्षा क्षेत्रमा काम गर्दा सिकेको सीपलाई विद्यार्थीमाझ लैजाने अभियान थालेको बताए ।

०३२ सालमा स्थापित सदरमुकाम लिबाङ नजिकैको उक्त विद्यालय पुरानो भएर पनि शैक्षिक उपलब्धिमा अगाडि बढ्न सकेको थिएन । अब अगाडि बढ्ने विश्वास भएको अभिभावक खड्कबहादुर खत्री बताउँछन् । हाल विद्यालयमा करिब ४ सय विद्यार्थी छन् । आधारभूत तहसम्म पढाइ हुने उक्त विद्यालयको भौतिक अवस्था कमजोर रहेको अभिभावकको गुनासो छ । रोल्पा नगरपालिका–६ का वडाध्यक्ष तुलबहादुर घर्तीमगरले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन विशेष सक्रियता बढाएको बताए । कान्तिपुर दैनिकबाट….


hotelghyampedanda