DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उखुको बक्यौता १२ करोड, माइतीघरमा किसानको धर्ना


  • जेष्ठ ४, २०८०
  • 214 Views
उखुको बक्यौता १२ करोड, माइतीघरमा किसानको धर्ना image

काठमाडौं । उद्योगीले उखुको १२ करोड रुपैयाँ भुक्तानी नगरेपछि कपिलवस्तुका किसान काठमाडौंमा आएर माइतीघरमा आन्दोलन गरिरहेका छन्। किसानले उखुको भुक्तानीको माग गर्दै माइतीघर मण्डलामा धर्ना सुरु गरेका हुन्।

कपिलवस्तुको जवाभारीस्थित महालक्ष्मी सुगर्स प्राइभेटले १० हजार उखु किसानको झन्डै १२ करोड रुपैयाँ भुक्तानी गरेको छैन। किसानले माइतीघर मण्डलामा धर्ना सुरु गरेर भुक्तानी नपाएसम्म घर नफिर्किने अडान राखेका छन्।

महालक्ष्मीले २०६९ देखि २०७४ सम्म उखु लिएर किसानको साढे ९ करोड रुपैयाँ भुक्तानी दिएकोे छैन। आर्थिक वर्ष २०७१÷०७२ मा सरकारले चिनी उद्योगमार्फत दिएको अढाई करोड रुपैयाँ अनुदान पनि उद्योगीले किसानलाई नदिएको कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिका अध्यक्ष अनुपकुमार चौधरीले बताए।

‘आर्थिक वर्ष २०७१र७२ सालमा सरकारले उखु किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँ अनुदान दिएको थियो। उद्योगीले हाम्रो नाममा अर्थ मन्त्रालयबाट अनुदान रकम लिए पनि हामीलाई दिएको छैन’, अध्यक्ष चौधरीले भने, ‘अर्थ मन्त्रालयमा पुग्दा सम्बन्धित उद्योगले अनुदानको रकम लिइसकेको रहेछ। उद्योगी पनि ल्याएको छैन भनेर पन्छिने गर्छन्।’ किसानलाई सरकारले दिएकोे अढाई करोड रुपैयाँ कहाँ हरायो, कसले लियो भन्ने पत्तै छैन। त्यसको खोजीमा हामीले आन्दोलन थालेका छौं।’ महालक्ष्मी सुगर्स प्राइभेटले किसानसँग उधारोमा लिएको उखुको साढे ९ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने मागसहित आन्दोलन थालिएको उनले बताए।

भुक्तानीको माग गर्दै उखु किसानले २०६९ देखि संघर्ष गर्दै आएका छन्। किसानले २०७७ सालमा जाडो मौसमा १७ दिन माइतीघरमा धर्ना दिएका थिए। त्यसताका सरकारले भुक्तानी गराइदिने भन्दै किसानलाई आश्वासन दिएर घर पठाइएको थियो। तर, अहिलेसम्म पनि उद्योगीले उखुको रकम र अनुदान भुक्तानी दिएको छैन। सरकारसँग न्यायको माग गर्दै किसानहरू बुधबार काठमाडौं आइपुगेका हुन्।

कपिलवस्तुका ७३ वर्षका उखु किसान रामलाल कलवार पुस्तेनी उखु खेती गर्दै आएका छन्। उनको १ लाख ३५ हजार रुपैयाँ बक्यौता रकम नदिँदै २०७३ सालमा उद्योगीले महालक्ष्मी सुगर मिल कपिलवस्तुबाट सरेर सर्लाहीमा पुर्‍याए। ‘हामीले उखु लगाउँदै आएका थियौं। कपिलवस्तुबाट मिल सरेर सर्लाही गइसकेपछि उखुको व्यावसायिक खेती गर्न छाडियो। मिल मालिकले हाम्रो उधारो पनि तिरेको छैन’, उनले भने, ‘यसले हाम्रो जीवनमा निकै असर परेको छ। हामीले उखु खेती ऋण लिएरै गर्छौं। बैंक र साहुसँग लिएको ऋणको ब्याज बढेको बढ्यै छ। मिलले हाम्रो उखु उधारोमा लिएर चिनी बनाएर बिक्री गर्‍यो तर, अझै भुक्तानी गरेको छैन।’

उद्योगीले किसानको उखुको बक्यौता ब्याजसहित भुक्तानी दिनु पर्ने उनको माग छ। उनका अनुसार प्रतिक्विन्टल २५ रुपैयाँ अनुदान र मिलले दिनुपर्ने रकम दिएको छैन। ’
अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.