काठमाडौं । नेपालीहरूको विशिष्ट पर्व माघेसंक्रान्तिमा उसिनेर खाइने तरुल र विभिन्न प्रकारका कन्दमुलमा पनि नेपाल परनिर्भर रहेको देखिएको छ । माघेसंक्रान्तिका अवसरमा ठूलो मात्रामा कारोबार हुने कन्दमुलमा नेपाल भारतमा निर्भर रहनुपरेको हो । माघेसंक्रान्तिलाई लक्षित गरेर व्यापारीहरूले भारतबाट कन्दमुल आयात गरेर बिक्रीवितरण गर्दै आएका छन् । त्यसो त माघेसंक्रान्तिमा खाइने कन्दमुल स्वदेशमा उत्पादन नहुने होइन । पछिल्लो समय कतिपय नेपाली कृषकले तरुल व्यवसायी खेतीका रूपमा समेत गर्ने गरेका छन् ।
माघेसंक्रान्तिलाई स्वदेशकै उत्पादनले पर्याप्त हुने केही व्यापारीले दाबी गरे पनि भारतबाट समेत ल्याइने गरिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २८ पुसको तथ्यांकअनुसार माघेसंक्रान्तिमा खाइने १० प्रतिशत तरुल भारतबाट आयात भएको छ । यस्तै, सखरखण्ड ५५ प्रतिशत आयात भएको छ । कालीमाटी फलफूल तरकारी बजारमा विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले माघेसंक्रान्तिका लागि स्वदेशी उत्पादन तरुल नै पर्याप्त हुँदाहुँदै पनि १० प्रतिशत तरुल भारतबाट आयात भएको बताए ।
सखरखण्ड स्वदेशमा धेरै उत्पादन नहुने हुँदा ५५ प्रतिशत बढी भारतबाट नै आयात हुने गरेको उनले बताए । माघेसंक्रान्तिमा सखरखण्डभन्दा धेरै व्यापार तरुलको हुन्छ । सूचना अधिकारी श्रेष्ठले भने, ‘तरुलमा आत्मनिर्भर नै नभए पनि माघेसंक्रान्तिलाई पुग्ने पछिल्लो समय स्वदेशकै उत्पादन छ । तरुल नभई नहुने वस्तु नभएकाले आयात गरेर खानैपर्छ भन्ने छैन । तर, व्यापारीले व्यापार गर्न भारतबाट आयात गर्ने गरेको पाइएको छ ।’
गत वर्ष माघेसंक्रान्ति भारतबाट तरुल खासै आयात भएको थिएन । यो वर्ष भने १० प्रतिशत आयात भएको छ । खानलाई आयातीत तरुलभन्दा स्वदेशी उत्पादन नै राम्रो हुन्छ ।
भारतबाट आयात गर्दा पनि नेपाली बजारको माग आपूर्ति गर्न स्वदेशी उत्पादन नै पर्याप्त भएको उनको भनाइ छ । श्रेष्ठका अनुसार २८ पुससम्ममा भारतबाट ६५ हजार ३ सय १४ किलो तरुल र ७५ हजार ८ सय ६० किलो सखरखण्ड आयात भएको छ । कालिमाटी बजारमा सबैभन्दा धेरै सर्लाही र सुनसरीको तरुल र सखरखण्डको व्यापार देखिन्छ । कालिमाटी बजारमा आउने तरुलमध्ये ४६ प्रतिशत सर्लाहीको र १९ प्रतिशत सनुसरीको छ ।
यसैगरी, धादिङबाट ७ दशमलव शून्य २ प्रतिशत, चितवनबाट १ दशमलव ५ प्रतिशत नवलपरासीबाट शून्य दशमलव ९७, मकवानपुरबाट १ दशमलव ६२, काभ्रेबाट शून्य दशमलव ४४, झापाबाट ३ दशमलव १४, तनहुँबाट १ दशमलव २७ र गोरखाबाट शून्य दशमलव ४४ प्रतिशत तरुल आएको छ । श्रेष्ठले बजारमा तरुलका प्रकार हेरेर प्रतिकिलो ६० देखि २ सय ५० रुपैयाँसम्म बिक्री भएको बताए ।
पछिल्लो केही वर्षदेखि माघेसंक्रान्तिका लागि भारतबाट तरुल आयात गर्नु नपरेको कालिमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष गीताप्रसाद आचार्यको दाबी छ । उनले स्वदेशमै उत्पादन भएको तरुलले बजारको माग धानेको जानकारी दिए ।‘पछिल्लो समय विभिन्न जिल्लाका कृषकले तरुल खेती गर्ने गरेका छन्,’ अध्यक्ष आचार्यले भने, ‘स्वदेशमै तरुल खेती हुन थालेपछि माघेसंक्रान्तिका लागि भारतबाट तरुल आयात गर्नुपर्दैन । स्वदेशी उत्पादन नै पर्याप्त छ ।’ ५÷६ वर्षअघिसम्म माघेसंक्रान्तिका लागि भारतबाट तरुल आएको हुने गरेको भए पनि हाल स्वदेशी उत्पादन नै पर्याप्त हुने उनको भनाइ छ । राजधानी दैनिकबाट….
