DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कुवेतको क्याम्पमा आगलागी हुँदा ४९ आप्रवासी श्रमिकको मृत्यु


  • जेष्ठ ३१, २०८१
  • 213 Views
कुवेतको क्याम्पमा आगलागी हुँदा ४९ आप्रवासी श्रमिकको मृत्यु image

काठमाडौँ । कुवेतको माङफास्थित श्रमिकलाई राखिएको ६ तले भवन (क्याम्प) मा बुधबार बिहान एक्कासि आगलागी हुँदा ४९ आप्रवासी श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० जना भारतीय श्रमिक रहेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् भने कुवेत सरकारले मृतक श्रमिकको राष्ट्रियता खुलाइसकेको छैन ।

कुवेतको एनबीटीसी कम्पनीको क्याम्प नम्बर ४ मा नेपालसहित दक्षिण एसियाबाट ल्याइएका श्रमिकहरूलाई राखिएको थियो । प्राप्त विवरणअनुसार उक्त क्याम्पमा आगलागीमा परेका ५ जना नेपाली श्रमिकले झ्यालबाट हाम फालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् । कुवेत सिटीस्थित नेपाली दूतावासका अनुसार शिवगुञ्ज–झापाका दोर्जे लामा, सिराहाका शिवशंकर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोटी र जाकिर नदपले झ्यालबाट हाम फालेर ज्यान जोगाएका हुन् ।

कुवेतको आन्तरिक मन्त्रालयले मृत्यु भएका श्रमिकहरू कुन कुन देशका नागरिक भन्नेबारे खुलाएको छैन । फिंगर प्रिन्ट गरेर मात्रै श्रमिकको पहिचान सार्वजनिक गर्ने जनाएको छ । कुवेतका स्वास्थ्यमन्त्री अहमद अल अवधीले आगलागीमा परी घाइते भएका ५६ जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको जनाएका छन्  । मृत्यु र घाइते हुनेमा सबैभन्दा बढी भारतीय नागरिक रहेका छन् । उक्त क्याम्पमा रहेका आप्रवासी श्रमिकको उद्धार कार्य जारी छ ।

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले बुधवार अवेरसम्म नेपाली श्रमिकको मानवीय क्षति भएको विवरण नआएको बताए । ‘कम्पनीले क्याम्पमा ५ जना नेपाली रहेको प्रारम्भिक जानकारी दिएको छ । उनीहरू सबै दूतावासको सम्पर्कमा छन्,’ लम्सालले कान्तिपुरसँग भने, ‘उद्धार कार्य अझै जारी छ ।’ बुधबार बिहान ४ः३० बजे क्याम्पको तल्लो तलाको एउटा कोठाबाट आगो सल्किएको थियो ।

‘आगलागी हुँदा म दुई तलामाथि थिएँ । भुइँतलाबाट आगलागी भयो । धूवाँको मुस्लोले कोठा भरियो,’ आगलागीबाट घाइते भई अस्पतालमा उपचाररत शिवगुन्ज–झापाका दोर्जे लामाले भने, ‘कोठामा लुगा सुकाउने डोरी थियो । त्यो डोरीबाट बिस्तारै बिस्तारै तल झर्‍यौँ ।’ लामा र सिराहाका शिवशंकर पासवानलाई अदान अस्पतालमा भर्ना गरिएको छ । पासवानले आफूहरू तल्लो तलामा रहेकाले बाँच्न सफल भएको बताए । ‘म तल्लो तलामा नै थिएँ । धूवाँको मुस्लो आएपछि ढोकाबाट बाहिर आउने अवस्था भएन । क्याम्पको झ्याल फोरेर भाग्न सफल भयौँ,’ पासवनले भने ।

नेपाली दूतावासका प्रथम सचिव सुजन बिडारी र श्रमसहचारी गिरी आचार्य घटनास्थलको निरीक्षण गरी घाइते राखिएको अस्पतालमा पुगेका थिए । ‘हामीले क्याम्प र अस्पतालमा रहेका नेपालीलाई भेट्यौँ,’ घटनास्थलमा पुगेका बिडारीले भने, ‘प्रहरी र कम्पनीको व्यवस्थापनसँग समन्वय भइरहेको छ ।’ त्यस कम्पनीमा दुई सय जना नेपाली श्रमिकलाई ल्याउनका लागि अनुमति दिइएको थियो । त्यसमध्ये कति जान नेपाली कुवेत आए रु कति जना नेपाली कुन क्याम्पमा राखिएको छ भन्ने विवरण पाइसकेको छैन ।

कम्पनीमा ५ जना मात्रै नेपाली थियो वा अरु पनि थिए भन्ने प्रस्ट भइसकेको छैन । त्यस कम्पनीमा १ सय ९६ जना श्रमिकलाई राखिएको थियो । जसमा सबैभन्दा बढी भारतीय नागरिक रहेको छन् । कुवेतको आन्तरिक मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रालयका अपराध प्रमाणिक विभागले मृतक र घाइतेहरूको पहिचान र आगलागीको कारण पत्ता लगाउने काम गरिरहेको छ ।

घटनास्थलको निरीक्षण गर्न पुगेका आन्तरिक मन्त्री शेख फहाद अल–युसुफ अल–सबाहले आगलागी घटनाको छानबिन गर्न भवन मालिकलाई पक्राउ गरिसकेको छ । ‘आगलागी भएको कम्पनी र भवन सञ्चालकको लोभको परिणाम हो,’ आन्तरिकमन्त्री सवाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कानुनी प्रक्रियाहरू पूरा नभएसम्म हामी आगो लागेको सम्पत्तिको मालिकलाई हिरासतमा राख्नेछौं ।’

अपराध प्रमाणिक विभागका महानिर्देशक मेजर जनरल इद अल अविहानले बिहान ६ बजेदेखि नै प्रमाण संकलन भइरहेको जनाएका छन् । ‘यो क्याम्पमा धेरैजसो दक्षिण एसियाबाट आएका श्रमिकहरूलाई राखिएका थिए । उनीहरू निर्माण र सेवा क्षेत्रमा काम गर्थे,’ उनले स्थानीय सञ्चार माध्यमलाई भने, ‘भुइँतलामा भएको आगलागीबाट निस्किएको धूवाँबाट श्रमिकहरू निस्सासिनुपर्‍यो ।’

भारतका विदेशमन्त्री एस जयशंकरले कुवेतमा भएको आगलागी घटनाबाट स्तब्ध भएको बताएका छन् । उनले एक्समा पोस्ट गर्दै ज्यान गुमाउने श्रमिकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । भारतले घाइतेहरूको उद्धार तथा उपचार र मृतकहरूको शव फिर्ताका लागि पहल गर्न विदेश राज्यमन्त्री कीर्तिवर्द्धन सिंहलाई कुवेत पठाएको छ । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.