काठमाडौं । भारत र चीनबीच यसै वर्षको गर्मी मौसमबाट कैलाश मानसरोवर यात्रा फेरि सुरु गर्ने सहमति भएको छ। यससँगै भारत र चीनबीच सिधा उडान सेवा पनि सुरु हुने जनाइएको छ। तर सुरु हुने मिति भने तोकिएको छैन।
भारतीय विदेश सचिव विक्रम मिस्त्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा भएको दुई दिने बैठकमा यी दुई निर्णयमा सहमति भएको जनाइएको छ। सन् २०२० देखि दुई देशबीचको कैलाश मानसरोवर यात्रा र सिधा हवाई सेवा बन्द थियो। दुई देशबीचको सीमा विवादले निम्त्याएको खराब सम्बन्ध र कोभिडको कारण उक्त यात्र बन्द भएको जनाइएको छ।
पछिल्लो समय भारत र चीन आपसी सम्बन्ध राम्रो बनाउन जोड दिइरहेको देखिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले पाँच वर्षपछि गत वर्ष अक्टोबरमा कजानमा भेटेका थिए।
त्यसपछि दुवैले आपसी सम्बन्धको अवस्थाबारे छलफल गरेर सम्बन्ध सुधार गर्न केही कदम चाल्न सहमत भएका थिए। त्यसयता पछिल्लो ३ महिनामा, चीनभारत सीमामा रहेको डेमचोक र डेप्साङका विवादित क्षेत्रहरूबाट दुवै देशका सेना फिर्ता भएका छन्।