DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोभिडका लागि छुट्याइएका बेड खाली, बाहिर बिरामी छटपटाउँदै


  • कार्तिक १४, २०७७
  • 718 Views
कोभिडका लागि छुट्याइएका बेड खाली, बाहिर बिरामी छटपटाउँदै image

स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन्– हामीले अनुगमन गर्न पाएका छैनौँ, कारबाही गर्न सकेका छैनौँ स्वास्थ्य मन्त्रालयकै तथ्यांक भन्छ– कोभिड उपचार हुनेमध्ये राजधानीका १२ अस्पतालमा १९ सय ५५ आइसोलेसन बेड छन् । आधाभन्दा धेरै अर्थात् एक हजार ६९ बेड अहिले पनि खाली छन्, तर सर्वसाधारण बिरामीले भर्ना पाएका छैनन् ।

देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका आधाभन्दा धेरै आइसोलेसन बेड खाली छन्् । तैपनि अस्पतालहरूले संक्रमितलाई ‘बेड खाली छैन’ भन्दै फिर्ता पठाइरहेका छन् । जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहँदा स्वास्थ्य मन्त्रालय भने मूकदर्शक छ । अस्पतालहरूले कोभिड संक्रमितका लागि छुट्याएका बेडको दैनिक अपडेट स्वास्थ्य मन्त्रालयलाई बुझाउँछन् । जसमा प्रायः आधाजति बेड खाली देखिन्छन् ।

फेरि पनि बिरामीलाई किन फिर्ता पठाइन्छ त रु व्यवस्थापन, अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको स्वास्थ्य मन्त्रालय उल्टै लाचारी प्रकट गर्छ । ‘अस्पतालहरूले मन्त्रालयलाई बुझाएको दैनिक रिपोर्ट हेर्दा बिरामीभन्दा केही संख्यामा बेड खाली देखिन्छन् । प्रभावकारी सफ्टवेयरको व्यवस्था नहँुदा अस्पतालहरूले बेडसंख्या लुकाउने गरेका पनि हुन सक्छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने, ‘मन्त्रालयले अस्पतालहरूको अनुगमन गर्न नसक्दा यस्तो समस्या आएको हो ।’

स्वास्थ्य मन्त्रालयबाट प्राप्त बिहीबारसम्मको तथ्यांकअनुसार काठमाडौंमा कोभिड उपचार हुनेमध्ये दुईवटामा मात्रै क्षमताअनुसार चाप छ । टेकु अस्पतालका ५८ बेडमध्ये ५१ मा बिरामी छन् । त्यस्तै, स्टार अस्पतालका २१ बेडमध्ये सबै बेडमा बिरामी छन् । बाँकी सबै अस्पतालमा प्रशस्त मात्रामा बेड खाली छन् । शिक्षण अस्पतालमा १३२ बेडमध्ये १०२ मा, वीर अस्पतालमा ४६० मध्ये जम्मा १०१ मा र सशस्त्र प्रहरी अस्पतालमा २०० मध्ये १११ मा संक्रमितको उपचार भइरहेको छ ।

आर्मी अस्पतालमा कोभिड उपचारका लागि १०० बेड छन्, तर जम्मा ४६ बिरामी भर्ना भएका छन् । नेपाल प्रहरी अस्पतालमा कोभिड उपचारका लागि ४१४ बेड रहेकोमा जम्मा १५५ संक्रमितको उपचार भइरहेको छ । धुलिखेल अस्पतालमा १०० मध्ये ४९ बेड खाली छन् । ग्रान्डी अस्पतालमा ५० मध्ये २४, ह्याम्स अस्पतालका ७० मध्ये ५५ र मेघा अस्पतालमा १०० मध्ये २० बेडमा मात्रै संक्रमितको उपचार भइरहेको छ । यसरी कोभिड उपचार हुनेमध्ये राजधानीका १२ अस्पतालमा १९ सय ५५ आइसोलेसन बेड छन् ।

आधाभन्दा धेरै अर्थात् एक हजार ६९ बेड अहिले पनि खाली छन्, तर बिरामीले भर्ना पाएका छैनन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका स्वास्थ्य संस्थामा २० हजार १७८ वटा आइसोलेसन बेड छन् । बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय ५२ पुग्दा ३१ हजार आठ सय ९८ संक्रमित अस्पतालबाहिरै रहेको सरकारी तथ्यांकले देखाउँछ । जम्मा सात हजार ५४ मात्रै स्वास्थ्य संस्थाको बेडमा छन् ।

यसरी देशभर १३ हजार १२४ आइसोलेसन बेड खाली छन् । तर, आपत पर्दा बिरामीले उपचार पाएका छैनन् । तथ्यांकमा बेड खाली देखिने, तर संक्रमितले भर्ना नपाउने विषयमा स्वास्थ्य मन्त्रालयले पटक–पटक छलफल गरेको प्रवक्ता गौतमले बताए । ‘पछिल्लोपटक सबै अस्पतालका निर्देशकहरूलाई बोलाएरसमेत निर्देशन दिइएको हो ।

उनीहरूले अस्पतालमा कर्मचारी अभाव, व्यवस्थापनमा समस्याजस्ता बहाना देखाएर पन्छिने गरेका छन् । जसले गर्दा समस्या अझै उस्तै छ,’ उनले भने । क्षमताअनुसार बिरामी भर्ना नगर्ने अस्पतालमाथि मन्त्रालयले कारबाहीसमेत गर्न नसकेको प्रवक्ता गौतमको भनाइ छ । नयाँ पत्रिकाबाट।।।

 


Thali Mobile Pvt.Ltd.